काठमाडौँ- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेका प्रतिवेदन संसोधन गर्ने तयारी गरेका छन्।
महामन्त्रीद्वयको उक्त प्रतिवेदनमा विवाद भएपछि साउन २३ देखि २८ गतेसम्म बसेर केन्द्रीय समिति बैठक स्थगन भएको थियो।
महामन्त्री थापाले चुनावी गठबन्धन गर्न नहुने भन्दै ‘कांग्रेसलाई रूखमा भोट हाल्न पाउनुपर्ने’ भन्दै प्रतिवेदन पेस गरेका थिए।
यस्तै महामन्त्री विश्वप्रकाश शर्माले ‘एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्न नपाउने भन्ने प्रावधान पार्टी विधानमै राख्नपर्ने’ प्रस्ताव सहितको प्रतिवेदन केन्द्रीय समिति बैठकमा राखेका छन्।
२०८० फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकले राय सहितको प्रतिवेदन पास गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो। सोही कारण साउन २३ देखि २८ सम्म बसेको केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयको प्रस्ताव प्रस्तुत भएको हो।
तर‚ महामन्त्रीद्वयको प्रस्ताव परिमार्जन गर्नुपर्ने अडानमा सभापति देउवासहित संस्थापन पक्ष छ।
चुनावी गठबन्धन रणनीतिक भएको र एक्जिट पोलिसी विधानमा समावेश गर्न नहुने जिकिर संस्थापन पक्षको छ। सोही विवादका कारण केन्द्रीय समितिले निर्णय गर्न नसकी बैठक भदौ ७ गते सम्मलाई स्थगन भएको हो।
प्रतिवेदनमा परिमार्जन गराउने उद्देश्यसहित देउवाले पदाधिकारीमा छलफल गर्न लागेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
‘समय टुङ्गो लागेको छैन। अब बैठक बस्नुअघि पनि छलफल हुन सक्छ‚’ देउवाले भने।
कांग्रेसले बिहीबार बिहान ११ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। तर हालसम्म सहमति जुट्न नसकेको हो।


