विराटनगर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेशको उदाहरण दिएर आफूले गलत नबोलेको बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो जिकिर गरेका हुन्।
दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस् भनेर आफूले खबरदारी गरेको उनको जिकिर छ। ‘बङ्गलादेशमा पनि दुईतिहाईको सरकार थियो। यो सरकारले पनि दुईतिहाइको आडमा जे पायो त्यही नगरोस् भनेको हो,’ उनले भने, ‘बङ्गलादेशको विषयलाई लिएर मैले उग्र बोलेको छैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीको व्यवहार नै असभ्य भएको आरोप लगाउँदै उनले ओलीले लगाएको आरोपको प्रतिवाद गरे। ओलीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै लगाएको आरोपबारे सञ्चारकर्मीले सोधको प्रश्नमा उनले व्यवहार हेर्न सुझाव दिए।
‘अहिलेको प्रधानमन्त्रीज्युले कति झुट, बेइमान, अनैतिक र जालझेल गर्ने हुनुहुन्छ भन्ने कुरा मैले प्रतिनिधिसभामै भनेको थिए,’ प्रचण्डले प्रश्न गरे, ‘अगाडिबाट मुसार्ने र पछाडिबाट छुरा हान्ने काम गर्ने ओलीले गरेको तथ्य कसरी असभ्य भयो र?’
प्रचण्डले अहिले सरकार बनाउने बारेमा माओवादी केन्द्रको रुचि नरहेको बताए। कांग्रेससँग मिलेर सरकार बनाउन लागेकोबारे सोधिएको प्रश्नमा उनले अहिले पार्टी बनाउनेमा केन्द्रित भएका बताए। ‘एमाले र कांग्रेसलाई यो सरकार बनाइदिएकोमा धन्यवाद पनि भनेका छौँ,’ उनले भने ‘अहिले हाम्रो सरकारमा जाने कुनै ध्यान छैन।’
‘प्रतिगामी किसिमले हुनुहुँदैन। जनताले पाएका अधिकार खोस्ने तरिकाले हुनुहुँदैन भन्ने हो’ उनले भने, ‘अगाडि जानका लागि, अझ जनतालाई अधिकार दिनका लागि संविधान संशोधनमा हाम्रो विरोध छैन।’
समानुपातिक र समावेशीसहित उत्पीडित समुदायले पाएको अधिकारलाई कुनै तरीकाले कमजोर पार्ने काम भए नेपाली जनतालाई सह्य नहुने प्रचण्डले चेतावनी दिएका छन्।


