काठमाडौँ– प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाएको छ।
सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेका थिए।
सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन संसद सचिवालयलाई रुलिङ गरे।
प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराइने भएको छ। सांसद प्रेम सुवालले प्रतिवेदन सांसदहरूले कहिले पाउने भनेर प्रश्न गरेपछि सभामुख देवराज घिमिरेले सांसदहरूलाई प्रतिवेदन उपलब्ध गराइने जानकारी गराएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको पुष्टि भएको दाबी गरेका छन्। संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘पूरै रिपोर्ट पढ्न पाएको छैन तर, के पुष्टि भयो भने सहकारी ठगीमा मेरो संलग्नता छैन। यो पुष्टि भयो,’ उनले भने।


