काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली विदेश प्रस्थान गरेपछि सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्। एमालेमा भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन्।
ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गरेका छन्।
राष्ट्रपति पौडेलले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन्।
कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।
प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कने छन्।


