काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्यबाट पनि निष्काशनमा परेका संस्थापक महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाही फिर्ता लिन माग गरेका छन्।
निवेदनमा आफूलाई पार्टीको साधारण सदस्य कायमै रहने व्यवस्था गरिदिन उनले रास्वपा पुनरावेदन समितिलाई निवेदन लेखेका हुन्।
यसअघि उनले महामन्त्री पदमा बहाल रहन पाउँ भन्दै रास्वपालाई निवेदन लेखेका थिए। उक्त निवेदनमाथि रास्वपाले कुनै कारबाही गरेको छैन।
पछिल्लो निवेदनमा ढकालले आफूलाई साधारण सदस्यबाट नै हटाउने निर्णयको वैधतामा प्रश्न उठाएका छन्।
‘म पुनरावेदकविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानूनविपरीत केन्द्रीय समितिको बैठक बसी मलाई पार्टीको साधारण सदस्यबाट हटाउने गरी भएको मिति २०८१/०५/११ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई पार्टीको साधारण सदस्य कायम गरिपाउँ,’ निवेदनमा लेखिएको छ, ‘साथै मलाई मिति २०८१/०३/२५ मा पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने निर्णयउपर दायर गरिएको पुनरावेदन हाल विचाराधीन नै रहेको हुँदा साधारण सदस्य कायम गराउनुका साथै साविककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाउँ।’


