काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक मञ्चमा गर्ने भाषण र पार्टीमा गराउने निर्णयबीच फेरि एकपटक विरोधाभास देखिएको छ। प्रचण्डले आगामी कुनै पनि निर्वाचनमा गठबन्धन नगर्ने बताएका प्रचण्डले पार्टीमा भने मंसिर १६ गते हुने उपनिर्वाचनमा गठबन्धन गर्ने वातावरण बनाउन पार्टीका तल्ला निकायलाई निर्देशन दिएको विषय सार्वजनिक भएको छ।
दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले अबका सबै निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने जिकिर गरेका थिए।
विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको भन्दै उनले अब एक्लै चुनाव लडेर देखाउने उद्घोष गरेका थिए। तर प्रचण्ड आफैँले हस्ताक्षर गरेर असोज २१ गते (मंगलबार) पार्टीका सबै प्रदेशका अध्यक्ष/इन्चार्जहरूलाई उपचुनावमा गठबन्धन गर्ने वातावरण बनाउन निर्देशन जारी गरेका छन्।
सार्वजनिक मञ्चमा एक्लै चुनाव लड्ने भनेर कांग्रेस-एमालेलाई सुनाउनका लागि मात्र उनले भाषण गर्ने गरेको जस्तो उनकै व्यवहारले देखाएको छ। यद्यपि तत्कालका लागि कांग्रेस र एमालेसँग भने तालमेल नगर्ने प्रचण्डले गरेको परिपत्रमा उल्लेख छ।
‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनमा सत्तारुढ दल बाहेकका वाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने,’ प्रचण्डले गरेको सर्कुलरमा उल्लेख छ।
चुनावी गठबन्धन गर्ने बाटो खुला राखेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार स्थानीय उपनिर्वाचनबारे विशेष परिपत्र जारी गर्दै कांग्रेस एमालेबाहेक अन्य दलसँग सहकार्यको पहल गर्न पार्टी कमिटीलाई निर्देशन दिएका हुन्।
परिपत्रमा भनिएको छ, ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि पहल बढाउने।’
गत साउनमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले आगामी आम निर्वाचनमा तालमेल नगर्ने निर्णय गरेको थियो। उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बैठकका निर्णय सुनाउँदै भनेका थिए, ‘आउने चुनावमा एक्लै लड्नेगरी तयारी गर्ने निर्णय गरेका छौँ । त्यसअघि हाम्रो नीति, विचार र कार्यदिशा सोझै जनतामा पुर्याउँछौँ । यो जनतामा जाने सुवर्ण अवसर पनि हो।’ तर यस्तो निर्णयमा माओवादी दुई महिनासम्म पनि टिक्न सकेन। उसका अध्यक्ष प्रचण्डले असोज २१ गते आइपुग्दा बैठकहरूको मान्डेटविपरीत परिपत्र गरेका हुन्।
आइतबार मात्र गृहजिल्ला चितवन पुग्दा पनि प्रचण्डले एक्लै चुनाव लड्ने बताएका थिए। प्रेस सेन्टर नेपाल चितवन शाखाले आइतबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने दाबी गरेका थिए।
‘म प्रधानमन्त्रीबाट हटे पनि जनताको बिचमा राम्रो आधार बनेको छ। त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु’, उनको भनाइ थियो। उनी मात्रै नभएर पार्टीका अन्य नेताले पनि यस्तै प्रतिक्रिया दिँदै आएका छन्।
माओवादीले अरू दलसँग सहकार्य गरे तालमेल भन्न नमिल्ने एक माओवादी नेताहरूले जिकिर गर्न थालेका छन्। कांग्रेस र एमालेसँग मिले गठबन्धन हुने तर अरु दलसँग मिले गठबन्धन नहुने उनीहरूको भनाइ छ। यसलाई उनीहरूले सहयोग/सहकार्य मात्र भन्ने पदावली प्रयोग गर्न थालेका छन्।
माओवादीका एक नेताले विपक्षी मोर्चामा बसेपछि सत्ताबाहिरका दलसँग तालमेल गर्नु अस्वाभाविक नहुने जिकि गरे। ‘आवश्यक परेको खण्डमा विपक्षी दलसँग सहकार्य पनि हुन्छ, तालमेल पनि हुन्छ। तर हाम्रो मिसन भनेको एकल लड्ने हो। तर, सत्ताविरुद्ध जहिले पनि मोर्चाबन्दी हुन्छ त्यो स्वाभाविकै पनि हो।’
‘प्रतिक्रियावादीहरूले सोचे अहिले माओवादीको संख्या घटेको छ, सरकारबाट पनि बाहिर गएपछि माओवादी धेरै कमजोर होला भन्ने सोचेका थिए । अहिले तिनीहरुको सात्तो गएको छ माओवादी देशैभरि जाग्न थाल्यो भनेर। यहाँ भएका सामाजिक संघसंस्थाको निर्वाचनमा कांग्रेस-एमाले मिल्दा पनि माओवादी एक्लैले हराएको छ,’ माओवादी अध्यक्ष प्रचण्डको जिकिर छ।
मोर्चामा माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपा सहभागी भएको समाजवादी मोर्चासँग प्रचण्डले सहकार्य गर्न सक्ने संकेत गरेका छन्। यसका साथै रास्वपासँग पनि गठबन्धन गरी उपनिर्वाचनमा कांग्रेस र एमालेलाई देखाइदिने दाउमा माओवादी छ। यस्तै जनमत र जसपासँग पनि तालमेल गर्ने प्रचण्डको तयारी छ।
प्रचण्डले आफूलाई अनुकूल हुने गरी विभिन्न वक्तव्य दिएर विवादमा आइरहन्छन्। उनी आफैँले बोलेको कुरालाई आफैँ तोडिरहन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आफूले क्लिनचिट नदिएको भनेर पनि बोली दाबी गरेका छन्। आइतबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यस्तो जिकिर गरेका हुन्।
अहिले अदालत पनि उनलाई क्लिनचिट दिन तयार नभएको कुरा आफूले सुनेको पनि बताए। ‘मैले रवि लामिछानेलाई गलत ढंगले क्लिनचिट दिने काम गरेको छैन। यो भ्रम हो,’ प्रचण्डको दाबी छ, ‘मैले के सुनेको छु भने अदालतले नै क्लिन चिट दिन तयार भएको छैन। यस्तो आधार छैन भनेर अदालतले भन्यो। पोखराकै अदालतले पनि भन्ने मैले सुनेको छु।’
तर उनले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले पनि सहकारी ठगीमा रवि लामिछानेलाई कहीँ कतै आरोपित नगरेको पनि उल्लेख गरेका थिए। ‘तर, कार्यदलले सहकारी ठगीमा आरोपित गरेको अहिले पनि छैन,’ उनको भनाइ छ, ‘गोरखा मिडिया नेटवर्कसँग सम्बन्धितमा केही चिज छ भनिएको छ। मैले रोकेर रोकिने कुरा पनि होइन, रोकेको पनि छैन।’
यसअघि प्रधानमन्त्री भएका बेला संसदको रोस्टममा उभिएर प्रचण्डले रविविरुद्ध कहीँ पनि जाहेरी नपरेको दाबी गरेका थिए। तर त्यसबेला आफूलाई प्रहरीले नै त्यस्तो रिपोर्ट गरेकाले आफूले सोही अनुसार संसदमा वक्तव्य दिएको उनको दाबी छ।
‘जतिबेला म प्रधानमन्त्री थिएँ, प्रधानमन्त्रीको हैसियतले अनुसन्धान गर्ने सबै निकायसँग सोधेको थिएँ, रविको बारेमा साँच्चै केही प्रमाण छ त?,’ अध्यक्ष प्रचण्डले थपे, ‘तपाईंहरूसँग छ भने भन्नुपर्यो। भोलि मैले प्रधानमन्त्रीको हैसियतले पार्लियामेन्टमा जवाफ दिँदैछु रवि लामिछानेबारे, केही छ भने यहाँ यति चाहिँ कैफियत छ भन्नुपर्यो छ भनेँ। छैन भने छैन भन्नुपर्यो। यति भनेपछि मैले तीनवटै सुुरक्षा निकायसँग सोध्दा पनि अहिले केही छैन। अनि पोखरामा सोध्दा पनि अहिले केही छैन भनेपछि जे छैन भनेको छ मैले छ भनेर भन्न त मिल्दैन। मैले त्यही कुरा भनेको हो।’
२०८० चैत ६ गते सांसदका प्रश्नहरूको उत्तर दिँदै प्रचण्डले रविको बचाउ गरेका थिए। रवि लामिछाने गृहमन्त्री बनेपछि यो विषयलाई कांग्रेसले अनावश्यक रूपमा उचालेको मात्र भन्ने उनको आरोप थियो।
‘सरकारमा सहभागि भएपछि यो विषयलाई संसदको नियमित काम, कारबाही प्रभावित हुनेगरी उठाउनु कति जायज छ वा छैन भन्ने विषय स्वयं प्रतिपक्ष दलका माननीय सदस्यहरुले बुझ्नुपर्ने विषय हो भन्ने मैले ठानेको छु,’ उनको भनाइ थियो।
रविविरुद्ध प्रचण्डले प्रहरीमा कुनै पनि जाहेरी नपरेकोसमेत उल्लेख गरेका थिए। तर कास्की प्रहरीमा रविविरुद्ध पूरक जाहेरी परेको अवस्थामा प्रचण्डको त्यस्तो भनाइ आएको थियो। गृहमन्त्रीका रूपमा रविले महान्यायाधिवक्ताको कार्यालयबाट पत्र लेखाउँदै देशभर आफूविरुद्ध जाहेरी नपरेको पत्र लेखाएका थिए।
प्रचण्डले आफूलाई अनुकूल हुने गरी विभिन्न समयमा वक्तव्यबाजी दिने गरेका छन्। प्रचण्डले यसरी कुरा फेरेको यो नै पहिलो पटक भने होइन। यसअघि पनि प्रचण्डले आफैँले बोलेका कुराहरूलाई फेर्दै आएका छन्।
एमसीसी अनुदानका विषयमा पनि उनले अमेरिकास्थित एमसीसी कार्यालयलाई सम्झौता पारित गराउने प्रतिबद्धतासहित पत्र लेखेपछि पनि एमसीसीको विरोध गर्दै कुनै प्रतिबद्धता नगरिएको जिकिर गर्दै आएका थिए। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त रूपमा हस्ताक्षर गरेर उनले अमेरिकालाई पत्र पठाएका थिए। पछि उक्त पत्र सार्वजनिक नै भएको थियो।
असोज २१ गते प्रचण्डले तल्लो तहमा पठाएको पत्रको व्यहोरा
१. आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रुपमा चुनाव लड्ने तयारी गर्ने। यसका साथै सत्तारुढ दल वाहेकका चाम-देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने ।
२. उप-निर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पाटीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने। यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी समितिले निर्णय गर्ने। सो को जानकारी कार्तिक २५ गतेसम्म प्रदेश पाटी कार्यालय र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रुपमा लेखी पठाउने ।
३. रिक्त रहेका पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, लगायत पदको उम्मेदवार छनोट गर्दा सम्बन्धित पालिका अन्तर्गतका सबै वडाहरूका प्रतिनिधि र पालिका पाटी समितिको संयुक्त बैठक बसी सहमतिको आधारमा उम्मेदवार छनोट गर्ने। यदि सहमति हुन नसकेमा पालिका समितिको बहुमतीय प्रणालीबाट छनौट गरी प्रदेश पार्टी समितिलाई सिफारिस गर्ने र प्रदेश पाटी समितिले निर्णय गर्ने। सो को जानकारी कार्तिक २५ गतेसम्म पार्टी केन्द्रीय कार्यालयलाई गराउने ।
४. जिल्ला समन्वय समिति प्रमुखका लागि पाटी जिल्ला समन्वय समितिले सिफारिस गर्ने र प्रदेश समितिले निर्णय गर्ने ।
मङ्सिर १६ गते हुन गइरहेको उप-निर्वाचनको तयारीका लागि निम्न कार्यहरू अविलम्व गर्ने व्यवस्था मिलाउने
सबै वडाहरूमा मतदाता नामावली अपडेट (अद्यावधिक) गराउने। हाम्रा मतदाताहरूको नामावली छुट्न सक्ने भएकाले तुरुन्त उप-निर्वाचन हुन गइरहेका वडा र पालिकाहरूमा चुनाव प्रचार-प्रसार समिति गठन गर्ने। प्रचार-प्रसारलाई व्यवस्थित गर्न जन
पहल लिएर अभिलेखीकरण गराउने । भेटघाट, घरदैलो, पिंडिसभा, चौतारी सभा, कोणसभा र आवश्यकता अनुसार अन्य सभाहरु गर्ने। सामाजिक सञ्जाल मार्फत प्रचारप्रसारको व्यवस्था मिलाउने। सास्कृतिक टिम निर्माण गरी प्रचार-प्रसारलाई व्यवस्थित गर्ने ।
पार्टीको नेतृत्वमा सबै जनवर्गीय संगठन, मोर्चाहरू तथा युवाहरूको टोली बनाएर परिचालन गर्ने । मतदानको दिन मतदातालाई शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सम्पन्न गर्न ध्यान दिने । मतदान केन्द्र, मतपेटिकाको सुरक्षा तथा निर्वाचन धाँधलीरहित बनाउन मतदान केन्द्रमा प्रतिनिधि खटाउने र मत परिणाम घोषणा नहुँदासम्म मतगणना केन्द्रमा प्रतिनिधि खटाई विशेष सतर्कता अपनाउने ।
गत असोज १० देखि १२ गतेसम्म देशभर परेको अविरल बर्षाको कारणले ठूलो धनजनको क्षति भएकोले यस बर्ष बिगतका बर्षमा मनाउने गरिएकोचाडपर्व लक्षित शुभकामना आदान-प्रदानका कार्यक्रम नगर्ने र सम्पूर्ण पाटी पद्दित बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनामा केन्द्रित गर्ने। चाड पर्वका समयमा जनभेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन गर्ने ।


