काठमाडौं- विपक्षी दलका नेताहरूको बैठक संसद भवन ल्होत्से हलमा सुरु भएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको बैठकमा रास्वपा, नेकपा एस, लोसपा र आजपाका नेता सहभागी छन्।
सरकारविरुद्ध मोर्चाबन्दीका लागि आगामी दिनमा चाल्ने कदमबारे रणनीति बनाउने तयारीका लागि छलफल थालिएको माओवादी केन्द्रको भनाइ छ।
बैठकमा माओवादीका प्रचण्डसहित शक्ति बस्नेत, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, आजपाका प्रभु शाह सहभागी छन्।
रास्वपाका सभापति रवि लामिछानेसहित उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालका साथै नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ बैठकमा सहभागी छन्।

द्वन्द्वकालीन मुद्दाहरूको अन्तिम किनारा लगाउन सरकारसँग छलफल गरेलगत्तै प्रचण्डले विपक्षी मोर्चाको बैठक बोलाएका हुन्।
बिहीबार मात्रै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनका लागि सर्च कमिटी बनाउने सहमति गरेका थिए।
शान्ति प्रक्रियाका विषयमा माओवादी दबाबमा पर्ने अवस्था आए विपक्षीहरुको एकै आवाज बनाउने रणनीति प्रचण्डको छ। उता रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै छानबिन समितिले कारबाही सिफारिस गरेपछि पक्राउ पर्ने भय छ।
दबाबमा रहेकाले माओवादी र रास्वापाले विपक्षी मोर्चालाई गोलबद्ध गर्नुपर्ने बताउँदै आएका छन्। सोही रणनीति कार्यान्वयनका लागि प्रचण्डले विपक्षी मोर्चा कसिलो बनाउने प्रसास थालेका हुन्।


