२०८३ कार्तिक २६ गते बुधबार

रवि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाले डाक्यो कार्यकर्ताको आकस्मिक भेला

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
rabi_lamichhane

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक भेला बोलाएको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको रकम अपचलनमा रवि लामिछानेसमेत जिम्मेवार रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि आफ्ना सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने सम्भावना भएकाले त्यसको प्रतिवाद गर्नका लागि आकस्मिक भेला बोलाएको हो।

काठमाडौं उपत्यकामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा आउन केन्द्रीय सदस्य टीका संग्रौला ज्वालाले सामाजिक सञ्जालमार्फत आह्वान गरेकी छन्।

‘काठमाडौँ हुने रास्वपाका मित्रहरु चाँडोभन्दा चाँडो केन्द्रीय कार्यालयमा भेला भइदिनु होला! साथै ७७ जिल्लाबाटै रास्वपा टिम तयारी अवस्थामा बस्नु होला,’ उनको पोस्टमा उल्लेख छ।

शुक्रबारै बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारविरुद्ध मोर्चाबन्दी कसिलो बनाउने र रविलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा उनले समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने उनको विश्लेषणमाथि बैठकमा छलफल भएको थियो।

यसअघि बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच कुराकानी भएको थियो। सोही बैठकमा भएको छलफलका आधारमा प्रचण्डले त्यस्तो निष्कर्ष निकालेको भन्दै बैठकमा ब्रिफिङ भएको एक सहभागी नेताको भनाइ छ। बुधबार बालुवाटारमा भएको शीर्ष तीन नेताको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका विषयमा पनि छलफल भएको थियो।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाएका थिए। ‘केही दिनमा नै पूर्वगृहमन्त्री लामिछानेलाई सामात्न सक्छ भन्ने उहाँको विश्लेषण रह्यो’, बैठकमा सहभागी एक नेताको भनाइ छ। प्रचण्डको ब्रिफिङ सुनेको प्रतिपक्षी बैठकले लामिछानेलाई पक्राउ गर्न खोजे उनको प्रतिरक्षाका लागि प्रतिवाद गर्ने निर्णय गरेको हो।

यसअघि पनि रविले कार्यकर्ताहरूलाई कार्यालयमा आकस्मिक रूपमा बोलाएका थिए। गोर्खा मिडियामा रविका व्यापारिक साझेदारसमेत रहेका पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेलगत्तै आफू पनि पक्राउ पर्न सक्ने भन्दै असोज ६ गते पनि रविले पार्टी कार्यालयमा आकस्मिक भेला बोलाएका थिए।

तर पछि सरकारले उनीविरुद्ध पक्राउ गर्ने कुनै पनि तयारी नरहेको बताएपछि कार्यालय पुगेका कार्यकर्तालाई मध्यरातमा सम्बोधन गर्दै रवि घर फर्किएका थिए।

अहिले पनि उस्तै गरी कार्यकर्ताहरूलाई कार्यालयमा डाकिएको छ। लामिछाने पक्राउ पर्न सक्ने चर्चा सुरु भएसँगै अहिले रास्वपा कार्यालयमा जम्मा हुन थालेका छन्। पार्टीका नेता तथा कार्यकर्ताहरु धमाधम कार्यालय पुगिरहेका छन्।

गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशी असोज ६ गते प्रक्राउ परी हिरासतमा छन्। उनले सहकारीको रकम दुरुपयोगमा अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रवि नै मुख्य दोषी भएको बयान प्रहरीलाई दिएका छन्।

रवि गोर्खा मिडियामा रहँदा विभिन्न सहकारीको ६५ करोडभन्दा बढी रकम अपचलन भएको सहकारी छानबिन समितिले ठहर गरेको छ। उक्त रकम अपचलनमा रविलाई कारबाही गर्न समितिको सिफारिस छ।

संसदीय छानबिन समितिले रवि, जीबी र छवि तीनै जनालाई कारबाही सिफारिस गरेको छ।

रवि, गितेन्द्रबाबु राई र जोशी मिलेर गोर्खा मिडिया नेटवर्क खोलेका थिए। गोर्खा मिडियामा रविको १५ प्रतिशत, जोशीको ३५ प्रतिशत र राईको ५० प्रतिशत शेयर कायम गरिएको थियो। तर उक्त मिडिया खोल्दा देखाइएको बिउपुँजी पनि सहकारीबाट नै ल्याइएको समितिको प्रतिवेदनमा उल्लेख छ।

सहकारीले कुनै पनि मिडियामा लगानी गर्न नहुने नेपालको कानुनी व्यवस्था रहेको तर गितेन्द्रबाबु अध्यक्ष भएका ५ सहकारीले कुनै पनि प्रक्रिया पूरा नगरी गोर्खामा पैसा लगाएका थिए। ती सहकारीले रविको समेत नाम लेखेर रकम जम्मा गरेका थिए।

सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न सिफारिस गरेको थियो। सूर्यदर्शन सहकारीसहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको समितिले मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी तथा कुमार रम्तेलमाथि कारबाही गर्न सिफारिस गरेको छ।

समितिले संसदमा बुझाएको ११२४ पेजको प्रतिवेदनको १८औँ परिच्छेदमा सिफारिसका विषयमा उल्लेख छन्।

‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवी लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिको सुझाव तथा सिफारिस खण्डमा उल्लेख छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने र कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सञ्चालक छविलाल जोशीले संयुक्त खाता सञ्चालन गरी कर्मचारीलाई तलब भत्तासमेत सहकारीबाटै खुवाएको समितिको प्रतिवेदनमा उल्लेख छ।

सहकारीको पैसा मिडियामा लगानी गर्नु आफैँमा पनि नियम विपरीत भएकाले समितिले यो तर्कलाई केन्द्रमा राखेर, रवि, जिवी र छबी तीनै जनलाई ‘दोषी’ का रुपमा चित्रण गरेको छ।

यद्यपि लामिछानेले ऋण र लगानीका विषयमा आफूलाई केही थाहा नभएको जिकिर गर्दै आइरहेका छन्। तर उनीहरूले छानबिन समितिले आफूलाई क्लिनचिट दिएको समेत उल्लेख गरेका छन्। समितिमा ९ घण्टा दिएको बयानमा पनि रविले आफूलाई केही थाहा नभएको तर्क गरेका थिए।

गोर्खा मिडियाका अध्यक्ष जीवी राई भने यतिबेला मलेसियामा छन्। उनलाई नेपाल फर्काउने प्रयास सफल भएका छैनन्।

नेपाल प्रहरीका प्रतिनिधि मलेसिया नै पुगेर उनीबारे सोधखोज गरे पनि कानुनी अड्चनका कारण जीबीलाई नेपाल ल्याउन प्रहरी निष्फल छ।

प्रकाशित: २०८१ कार्तिक २ गते शुक्रबार ०४:५२
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना