काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई स्थलमार्गबाट पोखरा लगिने भएको छ।
रविले आफू सडकमार्गबाटै पोखरा जाने धारणा राखेकाले सोही अनुसार गर्नका लागि समन्वय भइरहेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्।
‘उहाँ सडकमार्गबाट पोखरा जानुहुने छ। उहाँको साथमा हामी अरू केही साथीहरू पनि जाने छौँ,’ झाले भने, ‘हामीले उहाँहरूलाई सहयोग गरिरहेका छौँ। र, उहाँहरूले पनि एक किसिमको सहानुभूति देखाइरहनु भएको छ।’
झाका अनुसार लामिछानेले पार्टी कार्यालयमा सञ्चारकर्मी र समर्थकलाई सम्बोधन गर्नेछन्।
पक्राउ गर्ने बेला प्रहरीलाई अवरोध नगर्न पनि उनले कार्यकर्तालाई आग्रह गरे।
लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दा’मा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन भनिएको छ।



