काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको घटनालाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित कदम भएको प्रतिक्रिया दिएको छ।
शुक्रवार साँझ सभापति लामिछाने पक्राउ परे लगत्तै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याई छ,’ विज्ञप्तिमा उल्लेख छ।
कानुनका छिद्रमा टेकेर रास्वपा र सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध आफूहरूलाई कदापि स्वीकार्य नभएको समेत रास्वपाको भनाइ छ।
लामिछानेलाई पक्राउ गरेर सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको समेत उसको आरोप छ।
‘गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरारमक्स र वाइडबडी जस्तो अरबौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्। हामी डराएका छैनौँ। तर्सिएका हैनौँ। अब परिवर्तनको लडाई बुलन्द भएको छ।’
पार्टीले देशमा परिवर्तन चाहने सम्पूर्ण आम नेपाली जनतालाई दशकौँदेखि हुँदै आएको राजनीतिक जालझेलका विरुद्ध उभिन सचेत रहन समेत आह्वान गरेको छ।



