काठमाडौँ- उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निराशा व्यक्त गरेका छन्। आफू मन्त्री भएको सय दिनमै उनले निराशा व्यक्त गरेका हुन्।
आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री सिंहले हतोत्साहपूर्ण अभिव्यक्ति दिएका हुन्।
‘मन्त्रीको जिम्मेवारी दिइसकेपछि १०० दिनमा मन्त्रालयले उल्लेखनीय काम गरेको अवस्था छैन,’ उनले भने, ‘तर आउना साथ जादुको छडी कसैसँग छैन। सहर बनाउने कुरा सय दिनमा बन्दैन।’
यद्यपि केही का भने लक्ष्य अनुसार भएको उनको दाबी थियो। ‘जे जे समस्याहरु छन् ती चाँहि सम्बोधन गर्नको लागि समय लाग्ने गर्छ। तर पछिल्लो छोटो समयमा सम्पन्न गरिने कामहरु हामीले गरिसकेका छौं,’ उनले भने।
सहरी विकास मन्त्रालयसँग सम्बन्धित रहेका विषयहरुमा सुझाव सल्लाह दिन पनि उनको आग्रह छ।
मिडियामा समाचारहरु नराम्रो कामको मात्र आउने तर राम्रो काम गरेको समाचार नआउँदा दुःख लाग्ने गरेको गुनासो पनि उनको छ।
असोज ११ र १२ गते बाढीपहिरोले ठूलो धनजनको क्षति गर्दा सिंह कार्यवाहक प्रधानमन्त्री थिए।
बाढीपहिरोमा झन्डै अढाइ सय नागरिकको ज्यान गुम्दासमेत एक पटक मन्त्रिपरिषद बैठक पनि राख्न नसकेको विषयमा उनको आलोचान भयो। त्यही बेला स्याङ्जामा सम्मान थाप्न गएका मुख्यसचिव एकनारायण अर्याललाई उनले राजधानी बोलाउन सकेनन्।
उद्धार र राहत भद्रगोल भएको थियो। सरकारले प्रभावकारी काम गर्न सकेको थिएन। दिनदहाडै बाढीमा फसेर घण्टौँ गुहार माग्दा पनि राजधानीमै खोलाले ४ नागरिकलाई बगाउँदा पनि कुनै संवेदनशीलता नदेखाएको भन्दै उनको चर्को आलोचना भएको थियो।


