काठमाडौँ– नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावलसहित तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए।
आइतबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठक यस्तो निर्णय गरेको हो।
रावलसहित स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले लिएको हो।
एमाले केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा लिने पार्टी अध्यक्ष केपी शर्मा ओलीले गराएको निर्णय गलत भएको पाण्डे र तिमिल्सिनाले बताएका थिए।
‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नु भएको हो ? स्पष्टीकरण सोध्ने निर्णय भएको छ’, महासचिव पोखरेलले भने।
गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यवसायी गुरुङबाट १० रोपनी १४ आना जग्गासहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो।
रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
