कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्।
प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन्। उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाइ राजीनामा बुझाएको उनको सचिवालयले बताएको छ।
‘मेरा बिषयमा बाहिर हल्ला चलेपछि नैतिकताको आधारमा राजीनामा दिएको हुँ’ मन्त्री अधिकारीले संक्षिप्त प्रतिक्रिया दिँदै भने-‘यस्तो अवस्थामा पदमा बसिरहनु ठिक लागेन।’
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ।
तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णयविपरीत जापान पुगेका थिए। उनले पारिवारिक भेटघाटका लागि एकाएक जापान जानुपर्ने भएकाले आफूले भ्रमण स्विकृतका लागि समय नपाएको बताउँदै आएका थिए।


