काठमाडौँ- सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन जिल्ला तहसम्मकै संयुक्त संयन्त्र गठन गर्ने निर्णय लिएका छन्।
एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दुई दिनअघि नै यस्तो संयन्त्र बनाउने निर्णय भएको हो।
केन्द्रको हकमा एमालेका ४ र कांग्रेसका ४ जना नेता रहने गरी ८ सदस्यीय संयुक्त संयन्त्र बनाइएको छ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उपमहासचिव विष्णु रिमाल छन्।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन्।
यसैगरी, प्रदेशमा तीन/तीन जना रहने गरी संयुक्त संयन्त्र बनाउने निर्णय दुवै दलको छ।
जिल्लामा दुई–दुई जना रहने गरी संयन्त्र बनाइनेसमेत नेता गौतमले जानकारी दिए।
मंसिर १६ गते उपचुनाव हुनुअघि कांग्रेस र एमालेले जिल्ला तहसम्म पुग्ने संयुक्त संयन्त्र निर्माण गरेका हुन्।
चुनावकै मुखमा संयन्त्र बनाइएकाले चुनावमा सहयोग आदानप्रदानका लागि संयन्त्र बनाइएको हुन सक्ने आकलन गरिएको छ।
कार्तिक २० गते दुईदलीय संयन्त्रको कार्यदलको पहिलो बैठकले एक-एक महिना पालैपालो कार्यदलको नेतृत्व गर्ने तय गरिएको छ।
पहिलो महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यदलको बैठकको संयोजन गर्ने निर्णय भएको कार्यदल सचिवालयका सचिव केशवराज जोशीले जानकारी दिए।
यस्तै चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गर्नेसमेत तय गरिएको छ।
ओली र देउवाको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्य गर्नेसमेत सचिवालय जानकारी दिएको छ।


