काठमाडौँ- नेकपा माओवादी केन्द्रले राम्रो काम गर्नेहरूलाई हटाउने खेलमा सरकार लागेको आरोप लगाएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले अफ्ठ्यारोमा पारेर हटाउन लागेको ठहर गर्दै माओवादीले यस्तो आरोप लगाएको हो।
सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारका त्यस्ता कदम सफल हुन नदिन सबै मिल्नुपर्ने बताए।
‘राम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ। यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ’, सापकोटाले भने, ‘यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ।’
कांग्रेस र एमालेले संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने उनको भनाइ छ। माओवादीले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ।
‘निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक र मन्त्रीहरू विज्ञलाई बनाउनुपर्छ भन्न जनमत बनाउनुपर्छ,’ सापकोटाको भनाइ छ।
साथै सापकोटाले कीर्तिपुरको जग्गा दान लिने एमालेको निर्णय र अदालतले फैसलाबाट पनि एमाले र कांग्रेसको नियत प्रस्ट भएको बताए।
‘राष्ट्रियताको सवाल पेचिलो र जटिल बनेको छ । लोकतन्त्रका मान्यता कुल्चने र जनजीविकाका सवालमा सरकार चुेकेको छ त्यसैले हामीले देशव्यापी खबरदारी सभा गर्ने तयारी गरेका छौँ’, सापकोटाको भनाइ छ।


