काठमाडौँ- सहकारी ठगीको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दुई उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले भेट गरेका छन्।
कास्की प्रहरीको हिरासतमा नै पुगेर सोमबार दुवै उपसभापतिले सभापति लामिछानेसँग भेट गरेका हुन्।
भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिने भएपनि सत्तापक्षले राजनीतिक प्रतिशोध साँधेर हिरासतमा लिएको बताएका थिए।
आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन दुवै उपसभापतिलाई सभापति लामिछानेले निर्देशन दिएका थिए।
प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा अर्यालले सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको कुरा जनतालाई बुझाउन लामिछानेबाट निर्देशन भएको बताए। लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उनको टिप्पणी छ।
‘राजनीतिक प्रतिशोधका कारण आफूलाई पक्राउ गरिएको कुरा सर्वसाधारणलाई बुझाइदिनुहोला,’उनले आफूहरूसँग भनेको कुरा उद्धृत गर्दै उपसभापति अर्यालले भने।
अर्का उपसभापति वाग्लेले सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखिएको बताएका थिए।
लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन्। पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया प्रालिमा ल्याई अपचलन गरेको आरोप उनीमाथि छ। लामिछाने गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेको समयमा सहकारीबाट रकम ल्याइएको खुलेको छ।
आइतबार मात्रै कास्की अदालतले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।


