विराटनगर- कोशी प्रदेशका एमाले सांसद रेवतीरमण भण्डारी मन्त्री बन्ने भएका छन्।
उनलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्।
तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी मुद्दामा जोडिएर विवादित बनेपछि राजीनामा दिएर बनेको खाली ठाउँमा भण्डारी मन्त्री बन्न लागेका हुन्।
प्रदेश प्रमुख परशुराम खापुङले भण्डारीलाई आजै शपथ दिलाउने तयारी गरेका छन्।
प्रदेश प्रमुखको कार्यालय स्रोतका अनुसार उनलाई आज साढे ५ बजे गर्ने शपथ दिलाउने तयारी छ।
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन्।
कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छ। भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले स्वास्थ्यको पनि जिम्मेवारी सम्हालिरहेका छन्।
डाक्टर शेखर कोइराला पक्षले नाम नदिएका कारण राईले दोहोरो जिम्मेवारी सम्हालिरहेका हुन्।


