काठमाडौं – अर्थमन्त्री समेत रहेका नेपाली कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरणका दोषीलाई जोगाउने पक्षमा कांग्रेस नरहेको बताएका छन्। पार्टी प्रवक्ताका रूपमा मङ्गलबार पत्रकारहरुसँग कुराकानी गर्दै डा महतले यस्तो बताएका हुन्।
‘नक्कली शरणार्थीको गंभीर विषय हो। यसलाई पार्टीले गम्भीर रूपमा लिएको छ। यो प्रकरणमा अनुसन्धान जारी छ,’ उनले भने, ‘पार्टी दोषीलाई जोगाउने पक्षमा छैन।’
पक्राउ परेका कांग्रेस नेताले अनुसन्धानमा सघाइरहेको उनको दाबी थियो। यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्वसांसद आङटावा शेर्पा प्रहरी हिरासतमा छन्। ‘वहाँहरुले निर्दोष छु भन्नू भा छ। अनुसन्धानमा सहयोग गर्छु भन्नु भा छ। निष्पक्ष अनुसन्धान होस्,’ उनको भनाई छ।
खाँणले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले उनलाई निलम्बन नगरिएको डा महतले उल्लेख गरे। ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो।’
यो प्रकरणमा मिडिया ट्रायल गरेर दोषी करार गर्ने प्रयास भइरहेको पनि उनको भनाइ थियो।
