काठमाडौंः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा गोरखशमशेर राणा नियुक्त भएका छन्।
सन् १९८७ देखि नेपालमा सञ्चालनमा आएको स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा शुरूदेखि नै विदेशी सीईओ नियुक्त हुँदै आएको थियो। नयाँ सीईओका रूपमा राणाको नियुक्तिले यो क्रम तोडिएको छ।
बैंकका सञ्चालकमध्येका एक सिद्धान्तराज पाण्डेले सोमवार बेलुका आफ्नो फेसबुकबाट राणाको नियुक्तिको पुष्टि गरेकाछन्। आफ्नो फेसबुकमा दस्तीदार र राणासहितको आफ्नो तस्वीर राखेर पाण्डेले लेखेका छन्, ‘स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका पहिलो नेपाली सीईओका रूपमा नियुक्त भएकोमा गोरख राणालाई बधाई तथा दुबईमा नयाँ कार्यभार गर्न लागेका अनिर्वाणलाई हार्दिक शुभकामना।´
स्ट्यान्डर्ड चार्टर्डमै काम गरिसकेका बैंकरहरू सशिन जोशी, अनिल शाह, परशुराम कुँवर क्षेत्री तथा सुदेश खालिङ अन्य बैंकमा सीईओ भइसक्दा पनि स्ट्यान्डर्ड चार्टर्डले उपल्लो दर्जामा रहेका नेपाली कर्मचारीलाई यसअघि सीईओको जिम्मेवारी दिएको थिएन। तसर्थ सीईओमा राणाको नियुक्तिले विशेष अर्थ राख्छ।
हालका सीईओ अनिर्वाण घोष दस्तीदारको पदावधि सकिएसँगै राणाले नयाँ सीईओको जिम्मेवारी पाएका हुन्। बैंक स्रोतका अनुसार राणाले जनवरी २०२५ बाट सीईओका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
नेपालमा सञ्चालनमा रहेका बैंकमध्ये एक मात्र अन्तरराष्ट्रिय बैंकको हैसियत प्राप्त स्ट्यान्डर्ड चार्टर्ड आइक्रा नेपालबाट आइक्राएनपी आईआर ट्रिपल ए रेटिङ पाउने एक्लो बैंक पनि हो ।


