काठमाडौँ- नेपाल सरकारले म्यान्मार, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ। परराष्ट्र मन्त्रालयले सोमबार सूचना जारी गरी ती देशमा वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न अनुरोध गरेको हो।
रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्म/कम्पनी/रोजगारदाताको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्म/कम्पनी/रोजगारदाताको वेबसाइट चेकजाँच गर्नसमेत सरकारको आग्रह छ।
हालका दिनमा मानव बेचविखन एवं अन्य आपराधिक गतिविधिमा सङ्लग्न गिरोहले नेपाली नागरिकलाई कम्बोडिया, लाओस र म्यानमार पुर्याउने क्रम बढेको गुनासो आउन थालेपछि सरकारले सचेत रहन सबैलाई आग्रह गरेको हो।
ती देशमा पुर्याएर जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२–१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिनेलगायत समस्या बढेका छन्। साथै नेपाली दूतावास याङ्गुन र बैंककमा उद्धारका लागि आवेदन गर्ने नेपालीको सङ्ख्या उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको घटनाप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्याई अलपत्र पार्ने एवं निषेध गरिएका कार्यमा सङ्लग्न नहुन वा त्यस्ता गैरकानुनी कार्य नगर्न/नगराउनसमेत चेतावनी दिएको छ।
अनलाइन जुवा, कल सेन्टर–फ्रड, क्रिप्टो–करेन्सी ठगी आदिमा सङ्लग्न शंकास्पद आइटी फर्मले बैंककमा रोजगारीका अवसरको प्रलोभन देखाई युवालाई ठगी गरिरहेको र पीडितलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार लगी बन्दी बनाएर काम गर्न लगाइएको पाइएकाले त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ।
उल्लिखित विषयलगायत सम्बन्धमा कुनै जानकारी लिनुपरेमा नेपाली दूतावास, याहुनका द्वितीय सचिव गंगा सुन्दासको टेलिफोन नम्बर +९५–०१–९५४५८८०/०१– ९५५७१६८ र हटलाइन/भाइबर/वाट्सएप नं +९५ ९२५१२४२०५१ तथा नेपाली दूतावास, बैंककका प्रथम सचिव खगराज पाण्डेको टेलिफोन नम्बर +६६८६९९१५५५४ (वाट्सएप)लाई सम्पर्क गर्न हुन अनुरोध गरिएको छ।
यसअघि थाइल्याण्ड र म्यानमारमा प्रलोभन देखाई नेपालमा रहेका तथा वैदेशिक रोजगार र अध्ययनको सिलसिलामा युएईलगायतका मुलुकमा रहेका नेपालीलाई थाइल्याण्डको बैंकक र याङ्गुनको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराई विभिन्न माध्यमबाट म्यान्मारको कायिन प्रान्तको म्यावडीमा लगी जबरजस्ती अवैध कार्यमा लगाइएको घट्ना सार्वजनिक भएको थियो।
उक्त विषयका सन्दर्भमा मन्त्रालयबाट विसं २०७९ पुसमा यात्रासम्बन्धी सूचना जारी गरेपछि प्रलोभनमा परी उक्त क्षेत्रमा जाने नेपाली नागरिकको सङ्ख्यामा कमी आएको थियो।


