काभ्रे– निर्माणको ३५ वर्षपछि काभ्रेको बनेपा बसपार्क सञ्चालन तयारी थालिएको छ। यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाएको जनाएको छ। चालीस दशक सुरुमै अरनिको राजमार्गमा सवारीको संख्या बढ्न थालेपछि बनेपा नगरपालिका–८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो।
मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि २०४५ मा निर्माण गरिएको बसपार्क २०४९ मा पक्की बनाइएको थियो। बसपार्क निर्माणसँगै नगरले दायाँबायाँ सटर–कबल बनाई होटललगायत व्यवसायका लागि भाडामा दिँदै आएको छ। हाल राजमार्गमा सवारी चाप बढ्न थालेपछि १० जेठबाट पूर्ण रुपमा सञ्चालनमा ल्याउन लागिएको हो।
यसअघि बनेपा चारदोबाटोस्थित सडकछेउमा यात्रुवाहक सवारी रोक्ने तथा पार्किङ गर्ने गरिएको थियो। बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालनबारे नगरप्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा यातायात व्यवसायी तथा यातायात मजदुर संगठनका प्रतिनिधिसहित बसेको बैठकले बसपार्क सञ्चालनको निर्णय गरेको छ।
बैठकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुवाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेलाई आवश्यक कार्ययोजनासहितको व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको छ।
हाल बसपार्कमा बनेपाबाट जिल्लाभित्रका छोटो दूरी, पूर्व–पश्चिम लामो दूरीका लागि छुट्ने यात्रुवाहक बस तथा टिपर पार्किङ गरिँदै आएको छ।



