काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मन्त्रालयले काम नै नगरेको भन्ने कुरा सही नभएको जिकिर गरेका छन्।
शुक्रबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं मातहतका निकाय/आयोजनाको पुँजीगत बजेटको कार्यप्रगति (अर्धवार्षिक)को बारे भएको छलफलमा सहभागी भएका उनले असन्तुष्टि पोखेका हुन्।
प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा सुधार गर्नुपर्ने भन्दै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक भएको बताए।
‘हाम्रो प्रधानमन्त्री कार्यालयले गर्ने मूल्यांकनको प्रणालीमा पनि अलिकति सुधार गर्नुपर्छ। त्यो पनि हामी सुझाव दिन्छौँ। किनभने प्राविधिक तरिकाको मूल्यांकनले कुनैपनि कुराहरु हुँदैन। जम्मा १९ वटा क्रियाकलापमध्ये ८ वटा सुरु हुन लागेका छन्, तीन वटा सम्पन्न भए र ८ वटा चालू छन्,’ उनले भने, ‘१९ वटामा ११ वटाको काम भएको छ भनेपछि त यसबीचमा लगभग ५७ प्रतिशत काम भएको थियो। समग्रलाई हेरेर महिना महिनामा निकाल्ने हो रहेछ। हरेक महिना काम भएको छ र काम हुने सन्दर्भमा प्रगति बढ्दै जान्छ। तर कुनै एउटा योजनालाई हेरेर काम थोरै भयो भन्नु बेठिक हो।’
मन्त्रालयबाट भएका कामको विवरण प्रस्तुत गर्दै तोकिएकै समयमा काम नसक्नु कमजोरी भएको बताए। ‘ग्वार्को फ्लाईओभरको ८२ प्रतिशत काम भएको छ। माघ मसान्तसम्म काम सम्पन्न गर्न नसकेको हो। तर यसमा काम जिरो प्रतिशत भएको छ भन्ने होइन नि। त्यसैगरि सिद्धबाबा सुरुङमार्ग ११ सय २६ मिटर खन्ने काम सम्पन्न भएको छ,’ आफ्नो उपलब्धिका विवरणमा उनले थपे, ‘मध्यपहाडी, हुलाकी राजमार्ग, कालीगण्डकी करिडोर विभिन्न खण्डमा ५६ किलो मिटर कालोपत्रे गर्ने लक्ष्य राखिएको रहेछ। ७८.५ किमी सम्पन्न भएको रहेछ। माघ १७ सम्ममा ३७ वटा सडक, पुल बनाउने भन्ने लक्ष्य राखेको रहेछ। त्यसमा ४१ वटा सम्पन्न भएको रहेछ। भनेपछि यसरी धेरै धेरै कामहरु पनि भएका छन्।’
मन्त्रालयले धेरै कामहरु गरेको र काम गर्ने प्रयास गरेको भन्दै उनले अध्ययन गरेर मात्र मूल्यांकन गर्न आग्रह गरेका छन्। ‘एक दुईवटा कुरा स्वीकार गर्छौ। त्यसमा स्मार्ट लाईसेन्स् नौं लाख छापेर दिने भनेका रहेछौ तर त्यसमा १ लाख ६९ हजार ४ सय ३९ वटा मात्र दिन सकेको रहेछौँ,’ उनले भने, ‘यसमा कमजोरी भएको छ। काम गर्ने प्रयास गरेका छौँ। मुग्लिन पोखरा जाने हो भने हामीलाई धन्यवाद दिनुपर्छ।’


