काठमाडौँ- ठमेलमा प्रहरी कुट्ने विद्यार्थी नेताहरू धरौटी बुझाएर रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतको आदेशपछि धरौटी बुझाएर पाँचै जना रिहा भएका छन्।
रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०/१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।
यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो।
जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्ट कुटिएका थिए।


