कानेपोखरी (मोरङ)- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको उल्लेख गर्दै यसले देशव्यापी रूपमा ऊर्जा दिने बताएका छन्। माओवादी तराई-मधेश जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारी सभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको छ भन्ने उक्ति चरितार्थ हुँदै गरेको उनको दाबी थियो। पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रुपमै पुष्टि भएको र २०८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको उनको भनाइ छ।
पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूति सहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको उनले बताए। अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको प्रत्यक्ष सहभागितामा भएको जनयुद्धले सबै क्षेत्रमा ऐतिहासिक जागरण ल्याएको र २०६४ सम्म आउँदा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफै सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अबस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षा सहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको दाबी गरे।
हिजो आफ्नो पार्टीलाई कसैले दयामायाले ठूलो पार्टी बनाएको नभई नेपाली जनताको बलले स्थापित भएको उल्लेख गर्दै अब पनि जनताको एकताबद्ध प्रयासबाट आफूहरू अगाडि बढ्ने बताए। आगामी चुनावमा गठबन्धन राजनीतिको भुल नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरे।
विगतमा कहिले काङ्ग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दा उनीहरूलाई फाइदा भएको तर माओवादीलाई घाटा भएको उनको भनाइ थियो।


