भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरु भएको छ।
फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरू भक्तपुर आएका छन् ।
आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौंको कोटेश्वर, ताथलीलगायत ठाउँबाट झाँकीसहित र्याली निकालिएको छ। उक्त र्याली उदघाटन समारोहस्थल सल्लाघारी पुगेर सभामा परिणत भएको छ।
आजैबाट सुरु हुने बन्दसत्रले विभिन्न एजेन्डा पारित गर्दै नयाँ नेतृत्व समेत चयन गर्नेछ । नेमकिपा स्थापना भएदेखि नै पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) छन् ।
बिजुक्छेको नेतृत्वमा २०३१ साल माघ १० गते नेमकिपा स्थापना भएको थियो। नेमकिपाको पहिलो महाधिवेशन २०४७ सालमा भैरहवामा भएको थियो ।
पार्टीको सातौं महाधिवेशनसम्म पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे नै सर्वसम्मत अध्यक्ष चुनिँदै आएका छन् ।


