काठमाडौँ – सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाको रणनीतिले धेरै पाठ सिकाएको प्रतिक्रिया दिएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले ‘हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसंगको सम्वन्ध विग्रदा ठुला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ’ लेखेका छन्।
द्वन्द्व अस्थायी र कतिपय अर्थमा स्वार्थमा आधारित हुने लेखेका पोखरेलले आज रुस र युक्रेन दुवैका लागि युद्ध घाँडो भएको टिप्पणी गरेका हुन्। ‘तर युद्ध अन्त्यका लागि उनीहरूले निकै ठुलो मूल्य चुकाउनुपर्ने अवस्था देखिँदैछ,’ महासचिव पोखरेलले लेखेका छन्।
शान्ति र स्थायित्वका लागि अब हरेक देशले सोच्नुपर्ने र क्षेत्रीय शान्तिबिना विश्व शान्ति सम्भव नहुने उनको भनाइ छ। त्यसमाथि एसियाली देशहरूले आपसी सम्बन्ध विकासमा जोड दिने हो भने एसिया विश्वसभ्यताको केन्द्रका रूपमा पुनः स्थापित हुने पनि उनको टिप्पणी छ।
उनले फेसबुकमा लेखेका छन्-
अमेरिका र युक्रेन बीच अमेरिकामा भएको प्रत्यक्ष वार्ताले धेरैलाई धेरै कुराको पाठ सिकाएको छ । हरेक राष्ट्रले आफ्नो राष्ट्रिय हितका लागि छिमेकसंगको सम्वन्धलाई प्राथमिकतामा राख्नु पर्दछ । छिमेकीसंगको सम्वन्ध विग्रदा ठुला र शक्तिशाली देशहरुले पनि दुःख पाउनु पर्दोरहेछ । छिमेकका विरुद्ध वाहिरवाट प्राप्त हुने सहयोग अस्थायी र कतिपय अर्थमा स्वार्थ आधारित हुदो रहेछ।
आज रुश र युक्रेन दुबैका लागि युद्ध घाडो भएको छ । तर युद्ध अन्त्यका लागि उनीहरुले निकै ठुलो मुल्य चुकाउनु पर्ने अवस्था देखिदैछ ।
शान्ति र स्थायित्वका लागि अव हरेक देशले सोच्नु पर्दछ, क्षेत्रिय शान्ति विना विश्व शान्ति सम्भव हुदैन । त्यसमाथि एशियाली देशहरुले आपसी सम्वन्धको विकासमा जोड़ दिने हो भने एशिया विश्वसभ्यताको केन्द्रका रुपमा पुनः स्थापित हुने अवस्था छ ।
अमेरिकाको पछिल्लो रणनीतिले अवको एशिया नै भूराजनीतिको द्वन्द्वको केन्द्र बन्न सक्ने संकेत गर्दछ । गाजा क्षेत्र प्यालेस्टानीहरुवाट खोस्ने योजनाले त्यसकै संकेत गर्दछ । साथै रुश र युक्रेन बीचको युद्ध अन्त्यको नाममा भएको अमेरिकी प्रयास विश्वशान्तिको उद्देश्यसंग जोडिएको देखिएन । त्यसको केन्द्रमा खनिज सम्पदाको प्राप्ति मुख्य चासोको विषय वन्न पुगेको छ । यस प्रकारको स्वार्थपरक नीतिले अन्ततः आर्थिक स्वार्थ आधारित नयाँ प्रकारको भूराजनीतिक द्वन्द्वको विकास गर्नेछ । यस प्रकारको परिस्थितिवाट एशियाली राष्ट्रहरु विशेष ढंगले सचेत बन्नु आवश्यक छ ।
हिजो अमेरिकास्थित ह्वाइट हाउसमा यक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सी र अमेरी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्तालाप र जेलेन्स्कीको अपमान भएको विषयमा महासचिव पोखरेलको यस्तो प्रतिक्रया आएको हो।
जेलेन्स्कीले ट्रम्पको बहसलगत्तै ह्वाइट हाउस छोडेका थिए। ट्रम्प र जेलेन्स्कीबीचको भेटपछि हुने संयुक्त पत्रकार सम्मेलनसमेत रद्द गरिएको थियो।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार युक्रेनी नेतालाई रुससँगको युद्धमा अमेरिकाको समर्थन नभएसम्म शान्तिमा कुनै चासो नरहेको बताएका थिए।


