भैरहवा- गृहमन्त्री रमेश लेखकले कुनै पनि कर्मचारीलाई रिसाउने छुट नहुने बताएका छन्। रुपन्देहीको बेलहियामा सुविधायुक्त अध्यागमन कार्यालय भवन उद्घाटन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन्।
‘पछिल्ला दिनमा सबै ठाउँबाट पर्यटक आगमन राम्रो छ। यो ठाउँ बुद्ध जन्मभूमि भएकाले धार्मिक पयर्टकको सम्भावना छ,’ उनले भने, ‘अध्यागमन भनेको मुलुकको ऐना हो। कागजी प्रक्रिया नमिल्दा पर्यटक रिसाउन सक्छन्। कुनै पनि कर्मचारीलाई रिसाउन छुट छैन।’
सरकारी कार्यालयमा कर्मचारीका कारण एक जनाले दुःख पाए धेरैलाई नराम्रो प्रभाव पार्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन उनको निर्देशन थियो।
गृहमन्त्री लेखकले वर्तमान सरकार बनेको आठ महिना हुन लागेको र सरकारले समृद्धिलाई पछ्याइरहेको जिकिर गरे।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएको तर सीमा क्षेत्रको सडक लामो नबन्दा हैरानी भइरहेको बताएका थिए।
भ्याटसहित १० करोड २५ लाख लागतमा अध्यागमन कार्यालय भवन निर्माण गरिएको हो। भगवती गौरीशंकर जेभीले निर्माण गरेको भवन बेसमेन्टसहित ६ तल्लाको छ। अपांगमैत्री र भूकम्पप्रतिरोधी पर्यटकलाई आवतजावत सेवा, पर्यटक भिसा जारी र नवीकरणलगायतका काममा सहज हुने मन्त्रालयको विश्वास छ।


