बैंकक- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरु भएको छ।
थाइल्यान्डको राजधानी बैङ्ककस्थित होटल साड्ग्रिलामा सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरु भएको हो।
सदस्य मुलुकका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातले स्वागत गरेका थिए।
सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य मुलुकहरु थाइल्यान्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिमस्टेक सम्मेलनका दौरान साइडलाइन भेट हुने भएको छ। उनीहरुबीच शुक्रबार अपराह्न भेट हुने तय भएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री ओली र मोदीबीच ३० मिनेट साइडलाइन भेट भएको थियो। ओली प्रधानमन्त्री बनेको ९ महिना बित्दा पनि भारतीय पक्षले भेटका लागि तयार नभएपछि नेपाल-भारत कूटनीति चिसिएको छ।
बिहीबार बिमस्टेकको अफिसियल डिनरमा प्रधानमन्त्री ओली र मोदी सँगसँगै देखिए। सोही लाइनमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस पनि थिए। सम्मेलनमा सहभागी हुन गएका प्रधानमन्त्रीहरू सँगसँगै बस्नु असामान्य भने होइन।


