काठमाडौँ- नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानअन्तर्गत काठमाडौँ मतदान केन्द्रमा हालसम्म ७६ प्रतिशत मत खसेको छ।
बार निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार ४ हजार ६४३ मत खसेको छ।
काठमाडौँ मतदान केन्द्रबाट मतदान गर्ने कानुन व्यवसायीको संख्या ६ हजार १०२ थियो।
काठमाडौँ केन्द्र भएका मतदाताको संख्या ५ हजार ८७१ थियो भने मतदान केन्द्र परिवर्तन गरी काठमाडौँ आएका मतदाताको संख्या २३१ छ।
बार निर्वाचनमा देशभरबाट ९ हजार ९९६ जना मतदाता छन्।
शनिवार बिहान ८ बजेदेखि मतदान सुरू भएको मतदान दिउँसो ४ बजेसम्म चलेको थियो।
बार अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। बारको भावी अध्यक्षका लागि ५ जनाको उम्मेदवारी छ। महासचिवमा वरिष्ठ अधिवक्ता प्राडा मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला र श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपानेको उम्मेदवारी रहेको छ।
नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जना उम्मेदवार छन्। काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका छन्।
दिउँसो ४ बजे मतदान सम्पन्न भएपछि देशभरका मतदान केन्द्रबाट मतपेटिका संकलन गरी काठमाडौँ ल्याइनेछ। उपत्यकाबाहिरको मत गनिसकेपछि काठमाडौँको मत गणना सुरु हुनेछ।


