काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत १२ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ।
सोमवार सुरु भएको मतगणनामा १२ वटा केन्द्रको मत गनिसकिएको हो। झापा, इलाम, विराटनगर उच्च, मोरङ जिल्ला, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, सिरहा, सर्लाही, रौतहट र बारा मतदान केन्द्रको गणना सकिएको बार निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए।
यी १२ केन्द्रको गणना गर्दा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र महासचिव उम्मेदवार केदार कोइरालाले मतान्तर फराकिलो बनाएका छन्।
सिटौलाका अनुसार अध्यक्ष पदमा मिश्रले ७०७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी बनेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले ४३४ मत पाएका छन्।
झापा केन्द्रमा मिश्रका पक्षमा ९६ मत खस्दा श्रेष्ठले ३६ मत पाए।
इलाम केन्द्रमा मिश्रले ३७ मत पाउँदा श्रेष्ठलाई २३ जनाले मत दिएका छन्।
विराटनगर उच्चमा मिश्रले ५७ मत ल्याउँदा श्रेष्ठले ६२ मत पाए।
मोरङ जिल्ला बार केन्द्रमा भएको मतदानमा मिश्रले १४९ मत पाउँदा श्रेष्ठ ५३ मत पाए।
सुनसरीमा १२६ मत मिश्रको भागमा पर्दा श्रेष्ठले ६७ मत हात पारे।
धनकुटा केन्द्रबाट मिश्रलाई २७ मत आएको छ भने श्रेष्ठलाई २८ मत आएको छ।
राजविराज केन्द्रमा मिश्रलाई ९६ मत पर्दा श्रेष्ठलाई ७२ मत परेको छ।
उदयपुर केन्द्रमा मिश्रले २४ मत पाउँदा श्रेष्ठले २७ मत पाए।
सिरहा बारबाट मिश्रले ३१ मत पाउँदा श्रेष्ठका भागमा १८ मत परेको छ।
सर्लाही बारमा मिश्रले २३ मत पाउँदा श्रेष्ठले ८ मत प्राप्त गरे।
रौतहटमा मिश्रले २७ मत पाउँदा श्रेष्ठले २० मत पाए।
बाराबाट मिश्रले १४ मत ल्याउँदा श्रेष्ठले २० मत पाए।
१२ ठाउँको गणना सकिँदा अध्यक्षका उम्मेदवारहरू राजु कैतीले ५, उज्वल घिमिरे २ र आशिष पौडेलले ६ मत पाए।
महासचिव पदमा पनि मिश्र प्यानलकै केदार कोइरालाले ७१२ मत पाउँदा श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानले ३७५ मत पाएका छन्। उनीहरुलाई हरिशरण कार्कीले २७ मत पाएर पछ्याएका छन्।
बाँकी पदहरुमा पनि मिश्र-कोइराला प्यानलकै अग्रता छ। योसँगै आजका लागि मतगणना स्थगत गरिएको छ। बाँकी मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिएका छन्।
शनिबार देशभरका ३६ मतदान केन्द्रमा मतदान भएको थियो। काठमाडौँबाहिर ३५ वटा मतदान केन्द्र थिए। काठमाडौँ उपत्यकाको मतदान केन्द्रमा मात्र ६ हजार १०२ मतदाता थिए। उपत्यकामा ४ हजार ६४३ मत खसेको छ। ९ हजार ९९७ मतदाता रहेको बार निर्वाचनमा ८० प्रतिशत मत खसेको थियो।
अध्यक्षका उम्मेदवार मिश्रलाई डीएलए, एमाले निकट पीपीएलए र राप्रपा निकट एनडीएलएको समर्थन छ। माओवादी केन्द्र निकट आरपीएलए र रास्वपाका निकटका कानुन व्यवसायीको गठबन्धनबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ अध्यक्ष उम्मेदवार हुन्।
मिश्रको प्यानलबाट उपाध्यक्षहरूमा अधिवक्ताहरू पदमप्रसाद लिम्बू(कोशी), अजयशंकर झा (मधेश), तेजबहादुर रावल (बागमती), भुपेन्द्र खनाल (गण्डकी), कृष्णप्रसाद पोखरेल (लुम्बिनी), विवशकुमार बस्नेत (लुम्बिनी), सिद्धराज ओझा (सुदूरपश्चिम) र सरस्वती श्रेष्ठ (महिला) उम्मेदवार छन्।
यो प्यानलको कोषाध्यक्षमा वरिष्ठ अधिवक्ता जगतबहादुर कार्की छन्। दलित सदस्यमा चिरञ्जीवी तिल्क्यानी, मधेशी मुस्लिम (उपत्यका बाहिर) सदस्य अधिवक्ता सूर्यकुमार यादव, मधेशी मुस्लिम खुल्ला सदस्य रिंकुकुमारी यादव, आदिवासी जनजाति (उपत्यका बाहिर) सदस्य राजकुमार श्रेष्ठ, आदिवासी जनजाति (खुल्ला) सदस्य अधिवक्ता मंगलसुन्दर शिल्पकार, महिला (उपत्यका बाहिर) सदस्य अधिवक्ता इन्दिरा आर्चाय, महिला (खुल्ला) सदस्य रञ्जिता कार्की, खुल्ला (उपत्यका बाहिर) सदस्यहरूमा किरण पौडेल, किरण न्यौपाने, शारदा गुरुङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी, माधव मैनाली छन्। श्रेष्ठ वरिष्ठ अधिवक्ता हुन् भने बाँकी उम्मेदवारहरू अधिवक्ता हुन्।
श्रेष्ठको प्यानलबाट महासचिवमा बनेका न्यौपाने रास्वपानिकट कानुन व्यवसायी हुन्। उपाध्यक्षहरूमा कर्णबहादुर राई (कोशी), प्रमोद प्रसाद (मधेश), डेकेन्द्रप्रसाद सुवेदी (बागमती), सुकदेव गौतम (गण्डकी), तीर्थराज ज्ञवाली (लुम्बिनी), धर्मराज न्यौपाने (कर्णाली), पदमराज शर्मा (सुदूरपश्चिम) र दिना श्रेष्ठ (महिला) उम्मेदवार छन्। कोषाध्यक्षमा दीपक राई छन्।
सदस्यहरूमा रामबहादुर मिजार (दलित), सञ्जुकुमारी शाह (मधेशी, मुस्लिम), देवशरण यादव (मधेश खुला), निश्चल राई (आदिवासी जनजाति), देवकुमार मोक्तान (खुल्ला, आदिवासी), कला त्रिताल (महिला उपत्यकाबाहिर), सुलोचना बज्राचार्य महिला (खुल्ला) रहेका छन्। खुला सदस्यतर्फका उम्मेदवारमा कृष्णप्रसाद आचार्य, हरिचन्द्र भट्टराई, रामलाल श्रेष्ठ, वीरेद्र खड्का, कान्तिराम ढुङ्गाना, जमुना भुसाल खनाल र सुनिलकुमार पटेल रहेका छन्।
मिश्रले ‘स्वच्छ बार, कानुन व्यवसायीको हित’ भन्ने नारा लिएर चुनावी मैदानमा उत्रिएका छन्। बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्नका लागि आफूलाई निर्वाचित गर्नुपर्ने मिश्रको नारा रहेको थियो। बारको शुद्धता, संविधान संशोधनमा बारको प्रभावकारी भूमिका, लयर्स एकेडेमी स्थापना पनि उनको एजेन्डा रहेको छ।
त्यस्तै, नवोदित, युवा र महिला कानुन व्यवसायीका लागि विशेष नीति, योजना र कार्यक्रम सञ्चालन गर्ने, कानुन व्यवसायीको सक्षमता अभिवृद्धि गर्ने, सल्लाह र सुझावका आधारमा काम गर्नेलगायतका एजेन्डा रहेको घोषणापत्र नै मिश्रले जारी गरेका छन्। श्रेष्ठले भने ‘विवेकको आधारमा नेतृत्व छानौँ’ भन्ने मूल नाराका साथ चुनावी अभियान चलाएका थिए।
यस्तो छ मतगणनाको पूर्ण विवरण
(यसअघि १२ मतदान केन्द्र हुनुपर्नेमा अन्यथा पर्न गएकाले सच्याइएको छ। सं.)


