दोहा- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न विदेशका नेपालीहरूलाई आग्रह गरेका छन्। नेपालमा प्रशस्त सम्भावना र वातावरण रहेको बताउँदै उनले नेपालमा लगानी गर्न आग्रह गरेका हुन्।
कतारको राजधानी दोहामा बाग्लुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन्।
‘नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रुपमा लिने गरिएको पाइन्छ। विदेशमा बसेर विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ। म यहाँहरुलाई भन्न चाहन्छु,’ उनले भने, ‘यदि साच्चिकै विदेशमा गरेजस्तै मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्।’
बाग्लुङबाट आएर आफू मुलुककै निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको आफ्नै उदाहरण दिँदै उनले त्यसका पछि मिहिनेत, लगनशीलता र इमान्दारिताले काम गरेको उल्लेख गरे।
वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह समेत गरेका थिए।
कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको जानकारी गराउँदै ढकालले त्यसमा सहभागिताका लागि कतारमा वैदेशिक रोजगारीमा रहेका र गैरआवासीय नेपालीलाई आग्रह गरे।
‘मलाई लाग्छ गैरआवासीय नेपाली साथीहरुमा नेपालमा लगानी गर्दा साझेदार छनौटमा समस्या पनि भएको हुन सक्छ। म आग्रह गर्दछु कि यस कम्पनीमा नेपालका उद्यमी व्यवसायी र एनआरएनएका साथीहरु पनि हुनुहुन्छ। यहाँहरुले ढुक्क भएर लगानी गर्दा राम्रो हुनेछ,’ ढकालको भनाइ छ।
बाग्लुङबाट कतारमा आएकाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उनले पनि त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।
कार्यक्रममा ढकाललाई सम्मान प्रदान गरिएको थियो। अधिवेशनमा कलाकार सिम्रन परियारलगायत विभिन्न कलाकारहरूको सांगितिक प्रस्तुतिसमेत रहेको थियो।


