त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतो खरबुजा र मेवाखेतीमा रमाएका छन्। पछिल्लो समय उनले मेवा लगाएको खेतमै पाकेर पहेँलपुर छ। मेवा टिपेर बजार पठाउन उनलाई भ्याइनभ्याइ छ।
तीन बिघामा मेवा लगाएका महतोले अहिले ६० टन मेवा बिक्री गरिसके।करिब रु १८ लाख आम्दानी मेवाबाटै गरेको उनले बताए। ‘मेवाको बिक्रीमा खासै समस्या छैन। यहाँको मेवा मुख्यगरी वीरगञ्जमा जाने गरेको छ,’ उनले भने, ‘वीरगञ्जका व्यापारीले आफूले उत्पादन गरेको मेवा मगाउने गरेका छन्। केही मेवा काठमाडौँ पनि जान्छ।’
गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट बिक्री सुरु गरे। असोजबाट फल पाक्न थालेको अहिलेसम्म लगातार बजारमा पठाउँदै आएका छन्।
‘मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाका माग थियो, तर त्यता पठाइनँ। वीरगञ्जमै खपत भएको छ,’ उनले भने।
मेवा प्रतिकेजी रु ३० देखि ४० सम्ममा बिक्री हुने गरेको छ। मेवाखेतीमा करिब रु १३ लाख खर्च भएको र यो याममा हालसम्म करिब रु ५ लाख फाइदा लिइसकेको उनले बताए।
अझै फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनको विश्वास छ। त्यस वेलासम्ममा करिब रु २० लाखको मेवा बिक्री हुने उनको अनुमान छ।
मेवाखेतीबाट उनले आम्दानी मात्र लिएका छैनन्। स्थानीय २२ जनालाई रोजगारी पनि दिएका छन्। मेवा लगाएदेखि विभिन्न समयमा यसको गोडमेल गर्ने, मेवा टिप्ने, प्याकेजिङको काम गर्ने कामदारले मात्र करिब रु ९ लाख ज्यालाबापत बुझेको उनको भनाइ छ। यसका साथै कम्पोस्ट मल र बीउमा मुख्य खर्च हुने उनको भनाइ छ।
सुरुमा लगानी गर्दा ६ महिनासम्म आम्दानी नहुने हुँदा केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी हुने भएकाले मेवाखेती त्यति गाह्रो पेसा नभएको उनको भनाइ छ।
अहिले लगाएका बिरुवा असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको भनाइ छ। हालका बिरुवाले अर्को याममा समेत फल दिने भए पनि सानो फल्ने भएकाले अर्को वर्ष पुनः नयाँ बोट लगाउनुपर्ने उनी बताउँछन्। उनले रेडलेडी प्रजातिको मेवाको खेती गरेका हुन्।
मेवाखेतीका लागि कावासोती नगरपालिकाले रु तीन लाखसम्मको अनुदान उपलब्ध गराएको महतोले बताए। मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरे थिए। खरबुजाबाट समेत राम्रो आम्दानी भएको महतोले बताए।
कावासोती नगरपालिका–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि अनुकरणीय बनेका छन्।
रोजगारीका लागि सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्वदेशमा समेत मेहनत गरे राम्रो आम्दानी लिन सकिन्छ भन्न थालेका छन्।
‘मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन केही त गर्नैपर्यो,’ उनले भने।


