काठमाडौँ- ८५ रुपैयाँ पर्ने आइसक्रिमलाई २८५ लिएपछि सरकारले एक लाख रुपैयाँ जरिमाना गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अत्यधिक मूल्य लिने आइसक्रिम पसललाई एक लाख रुपैयाँ जरिमाना गरेको हो।
२०८२ वैशाख ८ गते सामाखुसीमा एक पसलले हेजलनट बार आइसक्रिम बिक्री गर्दा रु २८५ लिएको थियो। तर उपभोक्ताले उक्त आइसक्रिमको बाहिरी भागमा रहेको मूल्य हेरेका थिए। त्यसमा ८५ मात्र लेखिएको भनेका पनि थिए। भारतीय मूल्य नै भएपनि ८५ पर्ने आइसक्रिमलाई २८५ लिन अनुचित हुने भनेका थिए। तर पसलेले भारतीय रुपैयाँ ८५ हो भनी २८५ नै लिएका थिए।
उक्त विषयमा ती ग्राहकले धेरै निकायमा गुनासो गर्दा पनि कुनै पनि निकायले कारबाही गरेका थिएनन्। पछि उनले हेलो सरकारलाई गुनासो गरेका थिए। हेलो सरकारले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उक्त गुनासो फरवार्ड गरेको थियो।
विभागले वैशाख १७ गते एक लाख रुपैयाँ जरिमाना गराएको जानकारी हेलो सरकारले दिएको छ।


