काठमाडौँ- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदबहाली गरेका छन्।
बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेपछि पौडेल पदभार ग्रहणका लागि बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेका थिए।
उनलाई राष्ट्र बैंकका कर्मचारीहरुले स्वागत गरेका छन्। कार्यालय पुगेका उनले पदबहाली गरेका छन्। डा पौडेलले नाेट छपाइका लागि नाेटकाे डिजाइन सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन्।
पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५०० र १००० नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका हुन्।
मौद्रिक नीति र वित्त नीति अलग विषय भएको उनको भनाइ छ। ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन। यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं,’ गभर्नर पौडेलले भने।
गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए।
सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले बताए।


