काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) फेरि पनि फुटेको छ। बाबुराम भट्टराईसँग बेमेल भएपछि नेसपा फुटालेर माओवादीसँग एकता गर्ने बताएका अध्यक्ष महिन्द्र राय यादव समूह फेरि एकताबाट पछि हटेपछि थप विभाजन भएको हो।
माओवादी केन्द्रसँग अध्यक्ष महिन्द्र राय यादव समूह एकता नगर्ने पक्षमा देखिएपछि सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ माओवादीमा प्रवेश गर्ने भएका हुन्। उनी सोमवारै माओवादीमा प्रवेश गर्दैछन्। तर माओवादीले भने यसलाई नेसपाको पूरै पार्टीसँग एकता गर्न लागिएको भनेर प्रचारबाजी गरिरहेको छ।
ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने कार्यक्रम सकिएपछि श्रेष्ठ माओवादी नेता बन्नेछन्।
२९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफ्नो पक्षमा रहेको श्रेष्ठको जिकिर छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई माओवादीमा भित्र्याउनेछन्।
श्रेष्ठ समूहलगायत माओवादी पृष्ठभूमिका नेताहरूले जेठ ११ गते बैठक गरी माओवादीमा समाहित हुने निर्णय गरेका थिए।
नेसपाका तत्कालीन अध्यक्ष बाबुराम भट्टराईसहित माओवादीसँग पार्टी एकता गर्ने विषयमा विवाद हुँदा २०८० चैत ३ गते पार्टी विभाजन भएको थियो।
विभाजनपछि अर्का अध्यक्ष यादवको नेतृत्वमा नेसपा पुनर्गठन भएको थियो। नेसपामा अहिले १७० केन्द्रीय समिति र २७ सदस्य केन्द्रीय कार्यकारिणी समिति छन्।
बाबुराम अहिले नेसपा (नयाँ शक्ति)बनाएर अध्यक्ष बनेका छन्।


