काठमाडौँ- सरकारले कर्मचारीको महँगी भत्ता मासिक ५ हजार रुपैयाँ पुर्याएको छ।
बिहीबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं गृहमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।
यसअघि कर्मचारीहरूले मासिक २ हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका थिए। बढेको महँगी भत्ता आगामी साउन १ गतेदेखि लागू हुनेछ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीको तलब बढाउनु पर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनको कारणले बढाउन नसकिएको बताएका छन्।
‘राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरुप तलब वृद्धि गर्न सम्भव भएन,’ बजेट भाषणका क्रममा उपप्रधानमन्त्री पौडेलले भने, ‘तथापि सबै राष्ट्रसेवकलाई आगामी साउनदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक रु पाँच हजार पुर्याइएको छ।’
यसपालि पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरेका छन्।


