जनकपुर- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशsf ६४ वटा सडकको एकसाथ शिलान्यास गरेका छन्।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट एकसाथ शिलान्यास गरेका हुन्।
६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले पक्की सडक बनाउने योजनाका साथ यो काम सुरु भएको हो।
यो काम तीन वर्षभित्र सम्पन्न गर्ने योजना छ। यसका लागि १२ अर्ब ७० करोड खर्च हुने मधेश प्रदेश सरकारको अनुमान छ।
मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका अनुसार स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको छ।
निर्माण हुने सडकको चौडाइ साढे ५ देखि ७ मिटरसम्म हुनेछ। सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा एक-एक वटा पक्की पुल निर्माणका लागि प्रक्रिया सुरु भइसकेको मन्त्रालयको दाबी छ।


