भक्तपुर- चाँगुनारायण नगरपालिका-२ का स्थानीयले खसाङ-खुसुङ खोला आसपासको क्षेत्रमा बाढीको जोखिम बढ्दै गएको भन्दै सफा गर्न मेयरसँग माग गरेका छन्। विगत वर्षहरूमा समेत खोलाको बाढी बस्तीमा प्रवेश गर्ने गरेकाले तत्काल खोला सफा गरी बस्तीमा बाढीको जोखिम न्यूनीकरुण गर्न स्थानीयले माग गरेका हुन्।
मौसम पूर्वानुमान अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको उल्लेख गरेकाले पनि बाढीको जोखिमबाट बस्ती जोगाउनुपर्ने उनीहरूको माग छ। स्थानीयहरूका अनुसार भक्तपुर नगरपालिकाले खोलाको किनारमा मेसिनरी वाल निर्माण गर्दा रुखहरू काटिएको र ती रुखहरू हालसम्म खोलामै छन्। साथै, माटो थुपारिएको कारण खोलाको बहाव अवरुद्ध हुने सम्भावना रहेको छ, जसले गर्दा बाढीको पानी बस्ती र खेतीयोग्य जमिनमा पस्ने खतरा बढेको छ।
यस सन्दर्भमा, स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायहरूलाई खोलामा रहेका अवरोधहरू हटाई, खोलाको बहावलाई सहज बनाउन र सम्भावित बाढीबाट जनधनको क्षति रोक्न आवश्यक कदम चाल्न अनुरोध गरेका छन्।
नगरप्रमुखलाई सम्बोधन गरिएको निवेदनमा, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाबीच समन्वय गरी खोलाको सरसफाइ र बहाव व्यवस्थापनमा चाँडोभन्दा चाँडो कार्यवाही गर्न आग्रह गरिएको छ। ‘खसाङ खोला व्यवस्थापन नगर्दा वरपर जोखिम बढेको छ। वर्षादको समयमा चिन्ता थपिएको छ, त्यसैले हामीले नगरपालिकालाई यो विषयमा ध्यानाकर्षण गराएका हौं’ स्थानीयवासी तथा व्यवसायी रमेश ढकालले भने, ‘संकट बाजा बजाएर आउँदैन। हाम्रो चिन्ताप्रति नगरपालिका संवेदनसिल बनिदिओस् भन्ने हाम्रो माग हो।’
याे विषयमा नेपाल क्लिक्सले मेयर जीवन खत्रीलाई जिज्ञासा राखेको थियो। ‘त्यो क्षेत्रका विषयमा हामी जानकार छौं। स्थानीयवासीको माग सम्वोधन गर्न हामी सकारात्मक छौ’ उनले भने।


