काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (संगीता अर्याल)सहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको हो।
२०८१ साल भदौमा संगीता पहाडीलाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको थियो। तर उनलाई तत्कालीन प्रमुख व्यावसायिक अधिकृत (हाल प्रबन्ध निर्देशक)का रूपमा मुद्दा दायर गरिएको हो।
अख्तियारले दायर गरेको आरोपपत्रमा निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई मुख्य प्रतिवादी बनाइएको छ। पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्ति आर्जनसम्बन्धी आरोपमा मुद्दा चलिरहेको छ।
उनी निलम्बनमा गएपछि सरकारको निर्णयअनुसार पहाडी टेलिकमको नेतृत्वपमा पुगेकी थिइन्।
टेलिकमको बिलिङ प्रणाली लगायतका विषयमा अनियमितता भएको अख्तियारको आरोप छ।


