२०८३ कार्तिक १७ गते सोमबार

‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

 |  कमलकुमार बस्नेत
Sanket

कमलकुमार बस्नेत

काठमाडौँ, जेठ ३०
Untitled-1

सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे। १० नेपाली आरोही एकअर्काका हात समातेर राष्ट्रिय गान गाउँदै पाकिस्तानको केटु हिमालको चुचुरोमा पुगेका थिए।

हिमाल आरोहणको इतिहासमै ‘विन्टर’ सिजनमा पहिलो पटक नेपाली आरोहीहरुले केटुको शिखर चुमेर विश्व कीर्तिमानी कायम गरेका थिए।

संसारकै जोखिमपूर्ण मानिने केटुमा विन्टर सिजनमा सफलतापूर्वक आरोहण गर्नु असम्भव झैँ मानिन्थ्यो। त्यो जोखिमलाई चुनौती दिँदै नेपाली आरोहीले बनाएको विश्व कीर्तिमानी सम्भवतः नेपाली आरोहीको इतिहासकै गर्विलो दिन थियो।

उनीहरुले आरोहण गरेको खबर विश्वका अधिकांश सञ्चारमाध्यममा ‘ब्रेकिङ न्युज’ बन्यो। किनभने केटु हिमाल आरोहणको ६७ वर्षको इतिहासमा यसअघि कसैले पनि विन्टर सिजनमा आरोहण गर्न सफल भएका थिएनन्। त्यसो त माउन्ट केटुलाई आरोहणको दृष्टिबाट संसारकै जोखिमपूर्ण हिमालका रुपमा चिनिन्छ।

सन् १९५२ मा अमेरिकी आरोही जर्ज बेलले केटुबारे भनेका थिए, ‘इट इज स्याभेज माउन्टेन, द्याट ट्राइज टु किल यु।’

केटु चढ्न जाने आरोहीमध्ये औसतमा २३ देखि २५ प्रतिशत आरोहीको मृत्यु हुने भएकाले पनि केटुलाई चुनौती दिनु भनेको मृत्युसँग पौँठेजोरी खेल्नु हो भनिन्छ। सम्झिँदै भयानक र गर्विलो त्यही टोलीका एक सदस्य थिए, मिङ्मा डेभिड शेर्पा।

‘विन्टरमा केटु आरोहण हाम्रा लागि ठूलो उपलब्धि थियो, कैयौँ हिमाल कैयौँ पटक आरोहण गरेको अनुभव हुँदा पनि हामीले त्यो क्षणलाई ऐतिहासिक मानेका छौँ’, मिङ्माले भने, ‘त्यसअघि विन्टरमा गरिएका ४८ वटा प्रयास असफल भएका थिए, हामीले पहिलो प्रयासमै पूरा गर्‍यौँ।’

सफल आरोहण हुनुका कारण टिमवर्क हो भन्नुहुन्छ, मिङ्मा। उनका अनुसार तत्कालीन समयमा सबै नेपालीहरु व्यक्तिगत कीर्तिमानीका लागि केटु आरोहणको योजना बनाएका थिए। सबैलाई कीर्तिमान आफ्नो नाममा होस् भन्ने चाहना थियो। तर त्यसअघिका असफल प्रयासबारे अध्ययन गर्दा टिमवर्क नभएका कारणले हो भन्ने निष्कर्ष निस्कियो। त्यसैले व्यक्तिगत कीर्तिमानभन्दा पनि सामूहिक रुपमा प्रयास गरौँ भन्ने सहमति जुट्यो।

‘हामीहरुबीच कैयौँ पटक छलफल भयो, त्यसमा सामूहिक प्रयासमा मात्रै आरोहण गर्नेमा सहमति जुट्यो, चुचुरोभन्दा १० मिटर तलबाट हातेमालो गर्दै नेपालको राष्ट्रिय गान गाउँदै एक साथ शिखर चुम्ने निर्णय भयो’, मिङ्माले भने, ‘राष्ट्रिय भावनाले हामीलाई एकजुट बनायो।’

त्यो घटना केटुको इतिहासमा नयाँ थियो भने मिङ्माका लागि भने तेस्रो विश्व कीर्तिमान। हाल उनका नाममा पाँच वटा विश्व कीर्तिमान छन्। ती सबै केटुसँगै जोडिएका छन्। उनै मिङ्मा यतिबेला छैटौँ विश्व रेकर्डका लागि केटु आरोहणको तयारीमा छन्।

‘म आगामी जुलाईमा सबैभन्दा बढी केटु आरोहण गर्ने आफ्नै रेकर्ड तोड्ने तयारीमा छु’, केही दिनअघि आरोहणसम्बन्धी कार्यक्रममा भाग लिन लन्डन जानुअघिको भेटमा उनले सुनाए।

उनका अनुसार पहिलो विश्व रेकर्ड ६१ दिनमै सगरमाथा र केटु आरोहणपछि बनेको थियो। दोस्रो रेकर्ड सन् २०१९ मा केटु आरोहणपछि सबैभन्दा सानो उमेरमा आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढ्ने नाममा बनेको थियो। तेस्रो रेकर्ड १० जनाको समूहमा विन्टरमा केटु आरोहण गरेर भएको थियो। भने चौथो विश्व रेकर्ड सबैभन्दा बढी केटु आरोहण गरेर बनेको थियो।

सन् २०२३ मा उनले सबैभन्दा छिटो अर्थात् आधार शिविरबाट चुचुरोमा १४ घण्टा २२ मिनेटमा पूरा गरेर पाँचौँ विश्व रेकर्ड कायम गरे। अब उन छैटौँ विश्व रेकर्डका लागि सातौँ पटक केटु आरोहणको तयारीमा छन्।

मिङ्मा केटु आरोहण गर्न गएको पहिलो पटक सन् २०१३ मा हो। पहिलो पटकको प्रयास असफल भए पनि दोस्रो पटक भने सफल भयो। केटुमा उनका हालसम्म चार वटा प्रयास असफल भएका छन्। ‘केटु हिमाल आरोहण आरोहण आफैँमा गाह्रो छ, त्यसैले त सगरमाथामा एकै व्यक्तिले ३१ पटक आरोहण गर्दा केटुमा छपटक चढेको रेकर्ड छ’, उनले भने।

मिङ्मा शेर्पा समुदायको भए पनि हिमाल आरोहण गर्ने उन गाउँकै पहिलो व्यक्ति हुन्। फक्ताङ्लुङ गाउँपालिकामा जन्मिएका उनको बाल्यकाल पनि त्यहीँ बित्यो। गाउँका अधिकांश कि ब्रिटिस लाहुरे हुन्थे भने कि त पैसा हुनेहरु अमेरिका, क्यानडा र युरोपतिर जान्थे। मिङ्माको परिवार कृषिमै निर्भर थियो।

सन् २००७ ताका विद्यालयमा पढ्दै गर्दा घुम्नका लागि दार्जलिङको योजना बनाएर काठमाडौँ आएका उन यतै रोकिए। तत्कालीन समयमा मधेसमा आन्दोलन चर्कंदो थियो। काठमाडौँमा पनि हरेक दिन बन्दका घटना भइरहन्थे।

आन्दोलनका कारण उन घर जान पाएनन्। काठमाडौँमा बस्न खर्चको जोहो गर्ने क्रममा उनले पर्यटकको भारी बोक्ने काम पाए। दिनको ३०० रुपैयाँ आम्दानी हुन्थ्यो। तैपनि सन्तुष्ट हुनुको विकल्प थिएन। त्यो समयमा चिनेजानेकाहरुले काम मिलाइदिएका थिए।

भरियाकै काम गर्ने क्रममा मिङ्माले सन् २००९ मा मनास्लुको चार हजार ८०० मिटरको उचाइमा रहेको आधार शिविरमा ‘किचन हेल्पर’को काम पाए। आधार शिविरमा आरोहीहरु देखेपछि उनको मनमा त्यही समय म पनि हिमाल चढ्छु भन्ने रहर पलाएको थियो।

काठमाडौँ फर्किएपछि भारी बोकेर जम्मा गरेको रु ३५ हजार खर्चिएर उद्धार र प्रारम्भिकसम्बन्धी आधारभूत तालिम लिनुभयो। त्यसपछि उन ताप्लेजुङका दोर्जे खत्रीको सम्पर्कमा पुगे। खत्री तीन पटक सगरमाथा आरोहण गरिसकेका छन्।

‘उहाँलाई फोन गरेर काम मिलाइदिन भनेँ, उहाँले सन् २०१० मा मलाई सहायक गाइडका रुपमा सगरमाथा आरोहणका लागि लैजानुभयो’, मिङ्माले विगत सम्झँदै भने, ‘सन् २०१०, २०११ र २०१२ मा उनकै साथमा चीनतर्फबाट सगरमाथा आरोहण गरेँ।’

त्यो समयमा मिङ्मा काठमाडौँबाट प्राइभेट एसएलसी दिँदै थिए। तर आरोहण चल्दै गर्दा एसएलसीको परीक्षा बीचमै छाडेर उनी आरोहणमा गएका थिए। सगरमाथा आरोहणपछि उनले उच्चस्तरीय तालिम लिनु सुरु गरे। तर त्यसको केही समयपछि आरोहणमा समस्या आयो।

सन् २०१४ मा खुम्बु आइसफलमा १४ जना आरोहीहरुको मृत्यु भयो। त्यसैमा मिङ्माका गुरु दोर्जे खत्री पनि पर्नुभयो। गुरु नै नरहेपछि मिङ्मालाई अब हिमाल नचढ्ने पो हो कि भन्ने हुन थाल्यो। त्यतिखेर उन अर्को कम्पनीमार्फत मकालुको आरोहणमा थिए।

त्यसको केही समयपछि अर्थात् सन् २०१५ मा सगरमाथाको आधार शिविरमै छँदा भूकम्पले ठूलो धक्का दियो। भूकम्पका कारण आधारशिविरमा १९ जनाको मृत्यु भयो भने ६४ जना घाइते भए। उनी चार दिनसम्म आधार शिविरमै बसेर उद्धारमा सक्रिय भए। काठमाडौँ फर्किएपछि उन राहत लिएर सिन्धुपाल्चोक पुगे। सिन्धुपालचोकमा भूकम्पको दोस्रो ठूलो धक्काले तर्सायो।

सन् २०१५ को जुलाइमा पाकिस्तानको केटुमा जाँदा अचानक मौसम प्रतिकुल भयो। क्याम्प–३ मा रहेको सबै टेन्टसहित सबै सामग्री हिम पहिरोमा बग्यो। भाग्यले यहाँ पनि मिङ्मा र उनको नेतृत्वको ४० जनाको टीम बच्यो।

हिमालमा पटक–पटक भाग्यले बाँचेपछि अब सक्दो उमेरसम्म यही बिताउँछु भन्ने अठोट लिनुभयो। ‘हिमालमा भएका ठूला घटनामा लगातार बाँचिसकेपछि मर्नु त कर्म रहेछ भन्ने अनुभव भयो, भूकम्पमा मानिसहरु काठमाडौँका घरभित्रै मरेको घटनाले मृत्युदेखि जोखिम लिन नडराउने भन्ने भयो, मनोबल उच्च भएपछि म यो क्षेत्रमा अझ बढी सक्रिय भएँ’, उनले भने।

मिङ्माले हालसम्म आठ हजार मिटरभन्दा अग्ला हिमाल ३५ पटक सफल आरोहण गरिसकेका छन्। सगरमाथा र मनास्लु नौ/नौ पटक चढ्ने काम गरेका छन्। केटु ६ पटक र बाँकी हिमालका चुचुरोमा एक/एक पटक।

सुरुआत नै सगरमाथाबाट गरेका मिङ्माले ५ वटा महादेशका हिमाल चढेका छन्। अर्जेन्टिनाको अकोनकागुवा, अफ्रिकाको किलिमिन्जारो, रसियाको इलब्रस कैयौँ पटक चढेका छन्। अब उनको ‘बकेट लिस्ट’मा इन्डोनेसियाको कास्र्टेन्ज पिरामिड र अन्टार्टिकाको भिन्सोन म्यासिफ आरोहण बाँकी छ।

मिङ्माले सन् २०१६ हिमाल आरोहणसम्बन्धी छ वटा भाग भएको टेलिभिजन कार्यक्रम ‘एभरेष्ट रेस्क्यु’मा काम गर्ने मौका पाए। दुई महिनामा उनको टिमले सगरमाथाबाट ५२ जनालाई उद्धार गर्‍यो। सन् २०१६ मे महिनामा मिङ्मासँग जीवनको सबैभन्दा ठूलो अनुभव पनि छ।

तत्कालीन समयमा उन एकैदिन सगरमाथा र ल्होत्से आरोहण गरेर आफ्नो नाममा विश्व रेकर्ड कायम गर्ने योजनामा त्यहाँ पुगेका थिए। योजनाअनुसार सगरमाथाको चुचुरोमा पुग्ने दिन पनि आयो। तर भइदियो के भने, भारत कोलकाताका एक दम्पती सगरमाथा आरोहण गरी फर्केने क्रममा थिए। तर चौथो शिविरमा श्रीमान् एक्लै आए, श्रीमतीको अत्तोपत्तो थिएन। रात ढल्दै थियो। ती महिला माथि नै छुटेको खबर सुन्नासाथ सगरमाथा आरोहणको योजना त्यागेर मिङ्मा उद्धारमा जुटे। ती महिला आठ हजार ६०० मिटरको उचाइमा एक्लै बसेकी रहिछन्। उनी हिउँले हात र खुट्टाका औँला काम नलाग्ने भइसकेको र अनुहार हिउँले डढेको अवस्थामा भेटिइन्।

मिङ्माको टीमले रातारात उनलाई क्याम्प–फोरमा ल्यायो। भोलिपल्ट बिहान क्याम्प–३ हुँदै क्याम्प–२ मा ल्याएर हेलिकोप्टरमार्फत काठमाडौँ पठायो। काठमाडौँमा उपचारपछि उनी बाँचिन्, तर हात र खुट्टाका औँला भने गुमे। ती महिलासँग त्यसयता तीन पटक भेट भइसकेको छ। प्रत्येक भेटमा आफूलाई बचाएकामा धन्यवाद दिएकी छन्।

‘६ महिनाअघि काठमाडौँको विमास्थलमा भेट भएको थियो, अहिले त उमेर बढेर होला अनुहार पनि नचिनिने भएको रहेछ, मलाई नामले बोलाउँदै हात देखाएपछि पो चिनेँ’, मिङ्माले भने, ‘त्यो भेटमा पनि निकै आत्मीय ढङ्गले कुरा गर्दै धन्यवाद दिइन्।’

मिङ्मा आफूले त्यो दिन लिएको निर्णय जीवनकै सबैभन्दा राम्रो भएको बताउँछन्। यदि त्यो दिन रेकर्डका लागि आरोहण गरेको भए अहिलेसम्म टुटिसक्थ्यो, तर ती महिला अहिले पनि जीवित छन्। ‘तत्कालीन समयमा लिएको निर्णयले अहिले पनि गर्व महसुस हुन्छ’, उनले भने।

हिमाल चढ्ने मिङ्माले आरोहणसम्बन्धी काम गर्न सन् २०१६ मा कम्पनी सुरु गरे। तर व्यवसायको ज्ञान नभएकाले चलेन। सन् २०१८ मा आइपुग्दा ३५ लाख रुपैयाँ डुब्यो। हिमालमा भारी बोकेर कमाएको पैसा व्यवसायमा डुब्यो। पहिलो कम्पनी नचले पनि उनले सन् २०१८ मा निर्मल पुर्जा अर्थात् निम्स दाईसँग मिलेर एलाइट एक्सपेड कम्पनी सुरु गरे। उक्त कम्पनीमा सन् २०२१ मा मिङ्मा तेञ्जी शेर्र्पा पनि जोडिए।

अहिले उक्त कम्पनीले हिमाल आरोहणसम्बन्धी काम गर्दै आएको छ। उक्त कम्पनीले स्काइ डाइभिङसम्बन्धी तालिमहरु विभिन्न देशमा सञ्चालन गर्दै आएको छ। सन् २०१९ मा मिङ्मा एकै वर्षमा १० वटा हिमाल चढ्नुभयो। सन् २०१९ मा निर्मल पुर्जासँग मिलेर ‘प्रोजेक्ट पोसिबल’ सम्पन्न भयो। जसमा ६१ दिनमा १४ वटै हिमाल आरोहण गर्ने निर्मल पुर्जाको अभियान सफल पार्न मिङ्माले महत्वपूर्ण भूमिका निर्वाह गरे। त्यही प्रोजेक्टअन्तर्गत निर्मल पुर्जाले छ महिना छ दिनमा १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान कायम गरे।

मिङ्माले हिमाल चढेर कमाएको केही पैसा यसै क्षेत्रमै गुमाए, तर समाजबाट प्राप्त सम्मानमा भने आँच आउन दिएका छैनन्। त्यसैले त मिङ्मा एभरेष्ट बैंक, स्पार्काको ब्राण्ड एम्बेस्डरका रुपमा काम गरिससकेका छ भने माउन्टेन ड्यु, क्यानोन क्यामरा, एबोटलगायतका ब्राण्डसँग डिजिटल मार्केटिङमा काम गरिसकेका छन्।

सगरमाथा चढ्न सजिलो भएको हो ?
पछिल्ला केही वर्षयता सगरमाथामा चढ्दा ट्राफिक जाम हुने अवस्था छ। सयौँ मानिसहरु एकसाथ चुचुरोतर्फ गइरहेको तस्बिरहरु देखिन्छन्। मैले मिङ्मालाई सोधेँ, के अहिले हिमाल चढ्न सजिलो भएको हो रु होइन– मिङ्माको जवाफ थियो।

उनका अनुसार अहिले प्रविधिका कारण सगरमाथाबारे धेरै जानकारी हामीसँग छ। मोबाइलबाटै नेभिगेसन, जिपिएस, मौसम, अल्टिच्युडबारे सजिलै जानकारी पाइन्छ। सगरमाथा आरोहणको बाटोबारे भएका कैयौँ अध्ययन अनुसन्धानका कारण सजिलो बनाएको हो। सुरुमा सगरमाथा आरोहण गर्दा तस्बिर पनि नभएको अवस्थाबाट अहिल थ्रिडी नक्सा पाइन्छ। पछिल्लो समय जलवायु परिवर्तनका कारणले भने असहज बन्दै गएको उनको बुझाइ छ।

‘जलवायु परिवर्तनले हिमाललाई प्रत्यक्ष रुपमा असर गरेको छ, हिउँपर्ने र पानी पर्ने समय फेरिएको छ, मौसम कहिले कस्तो हुन्छ भने अनुमान गर्न कठिन छ,’, उनले भने, ‘हिमालबारे पर्याप्त जानकारी नलिने, शारीरिक र मानसिक रुपमा तयार नहुँदै आरोहणका लागि जानेहरुका लागि समस्या भने हुन्छ।’ अन्य खेलमा गल्ती गर्दा खेलमात्रै हारिन्छ भने हिमालमा एउटा गल्तीले ज्यान जोखिममा पर्छ। त्यसैले शेर्पाले सहयोग गरिहाल्छन् भन्ने सोचले हिमाल आरोहणका लागि तयार हुनु राम्रो होइन।

‘कतिपय मानिसहरु शरीरले नसक्ने हुँदा पनि शिखरसम्म पुग्छु’, भन्छन्, ‘ठूलो रकम त्यसैका लागि खर्च गर्नुभएको हुन्छ, त्यस्तो अवस्थामा हामीले उनहरुको अवस्था बुझेर निर्णय लिनुपर्ने हुन्छ’, मिङ्माले भने, ‘कहिलेकाहीँ आरोहीविरुद्ध पनि निर्णय लिनुपर्ने हुन्छ।’ अब सरकारले सगरमाथा आरोहण पूर्व कम्तीमा सात हजार मिटरको एउटा हिमाल आरोहणको नियम ल्याउने हो भने यसले सबैलाई फाइदा गर्ने उनको बुझाइ छ।

त्यसबाहेक सगरमाथामा फोहर ठूलो समस्या बन्दै गएको मिङ्माको बुझाइ छ। अहिले सरकारले प्रत्येक टीमसँग फोहरका लागि चार हजार डलर धितो राख्छ। फोहर उठाएको प्रमाण देखाएपछि त्यो रकम फिर्ता आउँछ। तर सगरमाथामा फोहर दिनप्रतिदिन बढ्दो छ। त्यसैले आरोही प्रत्येकसँग निश्चित पैसा लिएर आफैँले फोहर व्यवस्थापन गर्नुपर्ने मिङ्माको सुझाव छ। त्यसो हुन सकेमा पाँच वर्षमा सगरमाथाबाट फोहर हटाउन सकिने उनको भनाइ छ।

भाइ गुमाएको क्षण
आफूसँगै हिमाल आरोहणमा सक्रिय भाइ कासाङको हिमाल चढ्न छाडेको तीन वर्षमा दुर्घटनामा निधन भयो। सन् २०१२ मा भाइले एसएलसी दिएपछि मिङ्माले आफैसँग राखेर हिमालबारे सिकाएका थिए।

भाइले किचन हेल्पर सगरमाथा, मनास्लु आमादब्लम र धौलागिरि आरोहण गरिसकेको थियो। धौलागिरि आरोहण पछि दुवै दाजुभाई एउटै पेसामा हुँदा जोखिम हुन्छ भन्ने सोचल कासाङ त्यसबाट टाढिएका थिए। तर त्यसको तीन वर्षपछि काठमाडौँको कपनमा रहेको कम्पनीमा आगलागी हुँदा उनको मृत्यु भयो।

‘भाइ हिमाल आरोहण छाडेपछि मेरै कम्पनीमा व्यवस्थापकीय भूमिकामा सक्रिय थियो, तर अचानक भएको आगलागीले उसलाई अल्पायुमै गुमाउनुपर्‍यो, त्यो घटना जीवनको निकै पीडादायी क्षण थियो’, उनले भने। उक्त घटना हुँदा मिङ्मा मनास्लुको आधार शिविरमा थिए।

‘अक्लिमाटाइजेसन’का लागि आधार शिविर पुगेर केही तल झर्नुभएको थियो। घटना घटेको आधा घण्टामा फोन आयो। खबर पाएको भोलिपल्ट बिहान मिङ्मासहितको २३ टिम आरोहण छाडेर हेलिकप्टरबाट काठमाडौँ फर्कियो। -रासस

प्रकाशित: २०८२ जेठ ३० गते शुक्रबार ०२:५४
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना