बेलायत- गैरआवासीय नेपाली व्यवसायी तथा समाजसेवी सुजन कटुवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित भएका छनु।
बेलायती राजाको जन्मोत्सवको अवसरमा सार्वजनिक विभिन्न अवार्डको सूचीमा कटुवाल प्रतिष्ठित ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) बाट सम्मानित भएका हुन्।
पदक सूची सार्वजनिक भएपछि रासससँग कुरा गर्दै कटुवालले आफू निकै खुसी भएको भन्दै यो सम्मान आफ्नो मात्रै नभएर समाजसेवाका लागि खट्ने टिम, परिवार र आफूलाई सधैँ समाजसेवाका लागि प्रेरित गर्ने समुदायको भएको बताए।
कटुवाललाई समाजसेवामार्फत समुदायमा पुर्याएको विशिष्ट योगदानका लागि यो सम्मान प्रदान गरिएको हो।
उनले कोरोनाकालमा २ लाख ५० हजारभन्दा बढीलाई निःशुल्क खाना उपलब्ध गराएका थिए। विभिन्न सामाजिक कार्यमार्फत समुदायको हितमा महत्त्वपूर्ण भूमिकासमेत खेलेका थिए।
कटुवाल केही महिनाअघि मात्रै बेलायतको एक सय प्रभावशाली व्यक्तिको सूचीमा समेत परेका थिए।
सन् १९१७ मा राजा जर्ज पाँचौँले स्थापना गरेको एमबीई अवार्ड समाजको लागि दीर्घकालीन रूपमा प्रभाव पार्ने र अरूको लागि महत्त्वपूर्ण योगदान पुर्याउने उदाहरणीय व्यक्तिलाई राजदरबारले प्रदान गर्दै आएको छ।
एक हजार २०० जना विभिन्न क्षेत्रमा विशिष्ट योगदान गरेका मानिसलाई राजाको जन्मोत्सवको अवसरमा विभिन्न पदकबाट विभूषित गरिएको हो। त्यसमा पदक प्राप्त गर्ने महिलाको सङ्ख्या ४८ प्रतिशत छ। यसअघि गत वर्ष कीर्तिमानी आरोही पूर्वगोर्खा हरि बुढामगर र सन् २०१८ मा निर्मल पुर्जाले पनि यो सम्मान प्राप्त पाएका थिए।
बेलायतको साउथ लन्डनस्थित पानस गोर्खा रेष्टुराँका सञ्चालक कटुवाल पानस हेल्पिङ ह्यान्डस् च्यारिटीमार्फत समाजसेवामा सक्रिय छन्।
सिटी अफ लन्डनबाट ‘फ्रिडम अफ द सिटी अफ लन्डन’ अवार्डसमेत पाएका सुजनको सामाजिक संस्था हेल्पिङ ह्यान्डसले ‘प्वाइन्ट्स अफ लाइट’ अवार्ड समेत जित्न सफल भएको थियो।
नेपालको विराटनगरमा जन्मिएका कटुवाल सन् १९९८ मा बेलायत आएका हुन्।


