तेह्रथुम- तेह्रथुममा खेतमा आली लगाउँदालगाउँदै एक जनाको मृत्यु भएको छ। फेदाप गाउँपालिका जलजले घर भई म्याङलुङ नगरपालिका-९ साब्लामा बस्दै आएका ३५ वर्षीय बलबहादुर ठटालको आइतवार खेतमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी प्रहरी निरीक्षक राजाबाबु ठाकुरका अनुसार दिउँसो खेतमा काम गरिरहेको बेला उनको मृत्यु भएको हो। दिउँसो समूहमा खेतको काम भइरहेको वेला अरु सबै खाजा खान गएको बेला उनको मृत्यु भएको ठाकुरले जानकारी दिए।
‘दिउँसो सबै खाजा खान गएको बेला ऊ लडेछ। पहिलेदेखि पनि बेलाबेला ऊ लड्ने गरेको रहेछ,’ ठाकुरले भने, ‘पछि खेतमा काम गर्नेहरूले नै प्रहरीलाई खबर गरेका थिए।’ उनका अनुसार सबैले खाजा खान जाऔँ भन्दा मृतक ठटालले आफूले पछि खाने भनी खेतमा आली लगाउने काम गरिरहेका थिए।
ठटालको शव आलीमा सिरानी लगाएर गह्रामा पल्टिएको अवस्थामा भेटिएको थियो। उनको शव अहिले तेह्रथुम अस्पतालमा पोस्टमार्टमको लागि ल्याइएको छ। सोमवार पोस्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ।


