काठमाडौँ- सत्तारुढ दलका सांसदहरुले जनअपेक्षा र यथार्थपरक बजेट आएको भन्दै स्वागत गरेका छन् भने विपक्षी दलका सांसदहरुले बजेटको विरोध गरेका छन्।
सोमबार रास्वापा सांसदहरुको वेल घेराउ, पलेँटी र योगासनकाबीच प्रतिनिधिसभा बैठकमा भएको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपयुक्त रहेको बताए।
बजेटले उच्च, दिगो, फराकिलो आर्थिक वृद्धि दर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास र सावर्जनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने विषय प्राथमिकतामा राखेको उनले बताए।
सांसद कार्कीले बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनअपेक्षा र दीर्घकालीन सुधारलाई सम्बोधन गर्ने स्पष्ट संकेत गरेको धारणा राखे।
त्यस्तै एमाले सांसद पदम गिरीले मुलुकको अर्थतन्त्र लयमा फर्काउने लक्ष्यमा केन्द्रित गर्दै बजेट आएको बताए। सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न योग्य रहेको र आर्थिक लक्ष्य हासिल गर्नका लागि सहयोग गर्ने सांसद गिरीको भनाइ छ।
सांसद गिरीले युवा पुस्ताहरुलाई नेपालमा नै रोजगारी दिएर विदेश पलायन हुनबाट रोक्ने सरकारको नीति सही रहेको जिकिर गरे।
त्यस्तै माओवादी सांसद शक्ति बस्नेतले सरकारले विनियोजन गरेको बजेट संघीयतालाई कमजोर पार्ने प्रकारको रहेको आरोप लगाए। योजना र बजेटको असन्तुलनले संघीयतामाथिको धारणालाई कमजोर पार्ने उनको आशंका रहेको छ। उनले ऊर्जा बिकास मार्गचित्र कार्यान्वयन गर्नका लागि कहीँ पनि ध्यान नदिइएको बताए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई मन्त्रीहरुले आफ्नो क्षेत्र केन्द्रित गरेको आरोप लगाए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू कहिले नाराबाजी त कहिले योगासनमा मौन रहेर वेलमा रहन्छन्। सोमवारको बैठकमा सांसद सुमना श्रेष्ठ योगासनमा बसिन्। आँखा चिम्लेर ध्यानमग्न भइन्। तर विरोधका उनले प्रस्तुत गर्ने विभिन्न शैलीमध्ये यो एक थियो।
रास्वपा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय छानबिन आयोग बन्नुपर्ने अडानमा छ। नैतिकताको आधारमा गृहमन्त्री रमेशले लेखकले राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ।
राप्रपा बहिष्कारमा क्रियाकलापमा केन्द्रित छ। जेठ १३ गतेदेखि यही मागमा रहेका प्रतिपक्षीमध्ये माओवादीले जेठ ३० गते सत्तापक्षसँग २ बुँदे सहमति गरेपछि ऊ अवरोध गर्ने कित्तामा छैन। नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभाको कामकारबाहीमा सहभागी भएको छ। सत्तापक्षका दल सदनका कामकारबाही अगाडि बढाइरहेका छन्।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला एउटा दल वेल घेराउ र नाराबाजीमा रहेका बेला सदन चलाउने अभ्यासले निरन्तरता पाउनु उचित ठान्दैनन्।


