काठमाडौं – वाइएसडी यूकेएम ओभल, मलेसियामा जारी टी–ट्वान्टी अन्तराष्ट्रिय महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले हार बेहोरेको छ। नेपाली महिला क्रिकेटको इतिहासमा अहिलेसम्म हार नबेहोरेको नेपालले सोमबार मलेसियामा हार बेहोरेको हो।
पहिलो पारीमा ब्याटिङ सम्हालेको नेपाल ५० रनमै अलआउट भएको थियो। जवाफमा मलेसियाले १३ दशमलब २ ओभरमा पाँच विकेट गुमाएर ५१ रनको लक्ष्य पुरा गरेको हो। यससँगै मलेसियाले पाँच खेलको टी २० मा १–० को अग्रता लिएको छ।
नेपालले यसअघि मलेसियाविरुद्ध तीन खेल खेलेको इतिहास छ। ति सबै खेलमा नेपालले विजयी भएको छ। तर आज पहिलो पटक मलेसियासँग हार व्यहोरेको हो ।
मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रन बनाईन् भने हमिजाह १२ रनमा अविजित रहिन्। त्यस्तै, नजवा ८ रनमा अविजित रहिन्।
नेपालका लागि कप्तान रुबिना क्षेत्री र सीता राना मगरले समान २–२ तथा कविता कुँवरले १ विकेट लिएका थिए। तर पहिलो पारीमा नेपालका कुनै पनि ब्याटर चल्न सकेनन्।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ ओभर पाँच बलमै आउट भएको थियो।
नेपालको लागि डेब्यू खेल गरेकी सम्झना खड्काले १३ रन बनाउँदा ज्योती पान्डेले ११ र बनाइन्। त्यसबाहेक कुनै खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन।
मलेसियाका लागि नीर नुर अतिलाले ३ तथा ऐश्या एलिसा, हमिजाह र महिराह इश्लामीले समान २–२ विकेट लिए। आज नेपाली टिमबाट कृर्तिका मरासिनी र सम्झनाले डेब्यु गरेका थिए।
अब नेपालले सोही मैदानमा मलेसियाविरुद्ध दोस्रो खेल भोली मंगलबार खेल्नेछ।


