काठमाडौँ- समसामयिक विषयमा तयार पारिएको श्रव्यदृश्य कार्यक्रम ‘ऐना’को दोस्रो सिजन असार २० गतेदेखि प्रसारण हुने भएको छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तोता रहने ‘ऐना’को यो सिजनमा विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको कार्यक्रम कार्यक्रमका निर्देशक प्रकाश लामिछानेले जानकारी दिएका हुन्।
मंगलबार विज्ञप्ति जारी गरी लामिछानेले देशका विभिन्न कुना पुगेर तयार गरिएका सामग्री समावेश गरी दोस्रो सिजन तयार जानकारी दिए। ‘समुन्नतिको यात्रामा नेपाल कहाँ पुगेको छ? कहाँ छुटेको छ? हुनुपर्ने प्रगति के भएको छ? हुनु नपर्ने बेथिति किन भएको छ? यी लगायतका प्रश्न र गुनासा किन उब्जिएका छन्, सम्भावना र नवीन आशा के–कस्ता छन्? लगायतका विषयमा दोस्रो सिजन केन्द्रित छ,’ उनले भने।
दोस्रो संस्करणमा कांग्रेस महामन्त्री शर्माले जनप्रतिनिधिकै रूपमा संवाद गरेको उनको भनाइ छ। ‘राजनितिकर्मीकै रूपमा सरोकारवालाहरुको प्रश्न सुन्नुहुनेछ, अनि संसदको रोस्ट्रमबाट जस्तै सरकारलाई पनि प्रश्न गर्नुहुनेछ र समाधानका सूत्र खोजी गरी कार्यक्रममा प्रस्तुत गर्नुहुनेछ,’ कार्यक्रका विषयमा निर्देशक लामिछाने भन्छन्।
साहित्यमा रुचि राख्ने महामन्त्री शर्मा शब्दमा संगीत पनि भर्ने गर्छन्। पछिल्लो समय उनले हिमाल आरोहीको पहिचान पनि थप गरेका छन्। छापामाध्यममा सम्पादक रहिसकेका शर्मासँग रेडियो र टेलिभिजनकर्मको अनुभव पनि छ।
कार्यक्रम ऐनाको पहिलो सिजनमा सामाजिक विसंगतिविरुद्ध रुपान्तरणको आवाजका रूपमा कार्यक्रम सफल भएको निर्माण पक्षको भनाइ छ। बालश्रम, जातीय विभेद, घरेलु हिंसा, सार्वजनिकस्थलमा हुने दुर्व्यवहार, एसिड आक्रमणलगायतका विसंगतिबाट नेपाली समाजले भोगिरहेको पीडालाई केन्द्रीय बहसमा ल्याउन पहिलो सिजन प्रभावकारी बनेको थियो।
निर्देशक लामिछानेले ‘ऐना’ केवल एउटा टेलिभिजन शो नभइ समुन्नतिको दिशामा एउटा बुलन्द आवाज भएको बताए। ‘कमजोरी पहिचान गर्दै, सच्याउन जोडबल गरौँ, गर्न बाँकी धेरै कर्म छन्, तिनलाई हासिल गर्ने संकल्प गरौँ, त्यही यात्रामा जोडबल गर्ने कार्यक्रम ‘ऐना’ को दोस्रो सिजनमा पनि पहिलो सिजनमाझैं तपाईंको उत्तिकै माया पाउने, विश्वास हामीले लिएका छौँ,’ लामिछानेले भने।
कार्यक्रम निर्माण, निर्देशन, अनुसन्धान, रिपोर्टिङ, लेखन, भिडियोग्राफी, सम्पादन र व्यवस्थापनका कामहरूमा प्रकाश लामिछाने, आरके धिताल, जनक पौड्याल, भानु बोखिम, सोविता रिसाल, जीवन तिम्सिना, मनिका खतिवडा, ज्योति भट्टराई, युवराज साउद, सुशील बुढाथोकी, युवराज श्रेष्ठ सक्रिय छन्।
कार्यक्रमको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक छ। कान्तिपुर टेलिभिजनमा हरेक शुक्रवार राति ९ बजे प्रसारण हुने कार्यक्रम ओएसआर रियालिटीमा पनि हेर्न सकिने छ।


