काठमाडौँ– असार सकिन लाग्दा देशभर ५९ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। तुलनात्मक रूपमा कम वर्षा भएकाले मधेशमा थोरै रोपाइँ सकिएको छ भने सुदूरपश्चिममा रोपाइँ सकिने अवस्थामा छ।
कृषि मन्त्रालयका अनुसार कोशीमा ४१.३२ प्रतिशत, मधेशमा ३३.७८ प्रतिशत, बागमतीमा ७६.३१ प्रतिशत, गण्डकीमा ६६.९९ प्रतिशत, लुम्बिनीमा ७३.६८ प्रतिशत, कर्णालीमा ८३.२९ प्रतिशत र सुदूरपश्चिममा ९३.१ प्रतिशत रोपाइँ सकिएको छ। सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै रोपाइँ थालिने भएकाले छिट्टै सकिन लागेको हो।
मन्त्रालयका अनुसार धान खेती हुने क्षेत्रफलमध्ये कोशीमा १ लाख १४ हजार २११ हेक्टर र मधेशमा १ लाख २५ हजार ८८८ हेक्टरमा रोपाइँ सकिएको छ।
बागमतीमा ९१ हजार ९८३ हेक्टर, गण्डकीमा ६३ हजार ९१ हेक्टर, लुम्बिनीमा २ लाख २३ हजार २१२ हेक्टर, कर्णालीमा ३४ हजार २५ हेक्टर र सुदूरपश्चिममा १ लाख ६३ हजार ९९३ हेक्टरमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ।
यो वर्ष १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ। यसमध्ये आठ लाख १६ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ।
बागमतीमा ७६.३१ प्रतिशत रोपाइँँ भएको छ। गत वर्षको यही अवधिमा बागमतीमा ७०.६ प्रतिशत रोपाइँँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठका अनुसार प्रदेशका अधिकांश धान रोपाइँ हुने स्थानमा यस वर्ष समयमै पानी पर्न सुरु गरेकाले विगतभन्दा राम्रो धान रोपाइँँ भइरहेको छ। निर्देशक श्रेष्ठले काठमाडौं, भक्तपुर र ललितपुरमा रोपाइँ सकिएको जानकारी दिएका छन्।
काठमाडौंमा पाँच हजार नौ सय २४ हेक्टर, ललितपुरमा चार हजार एक सय ६३ हेक्टर र भक्तपुरमा दुई हजार ६ सय ९९ हेक्टर धान खेती हुने क्षेत्रफल रहेको र सबै ठाउँमा रोपाइँ सकिएको उनले बताए।सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ। यहाँ ४० प्रतिशत मात्रै रोपाइँँ भएको निर्देशक श्रेष्ठले जानकारी दिए। धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिए पनि असार २९ सम्मा चार हजार चार सय ६४ हेक्टरमा मात्रै रोपाइँ भएको हो। त्यस्तै, मकवानपुरमा सात हजार ६७ हेक्टर जमिनमध्ये ५९.३ प्रतिशत, चितवनमा २७ हजार दुई सय ०७ हेक्टरमध्ये ८०.३ प्रतिशत र नुवाकोटमा १६ हजार चार सय ९८ हेक्टरमध्ये ९६ प्रतिशतमा रोपाइँ सकिएको छ।
सिन्धुपाल्चोकमा आठ हजार सात सय ८२ हेक्टरमध्ये ६७.२ प्रतिशत, दोलखामा दुई हजार आठ सय १४ हेक्टरमध्ये ९२ प्रतिशत, सिन्धुलीमा ११ हजार चार सय ४५ हेक्टरमध्ये ६३.७ प्रतिशत र रामेछापमा सात हजार आठ सय ५९ हेक्टरमध्ये ८३ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ।
त्यसैगरी १० हजार दुई सय १० हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेको काभ्रेमा ७६.१४ प्रतिशत र रसुवामा दुई हजार सात सय १८ हेक्टरमध्ये ३७.७० प्रतिशत धान रोपाइँ भएको छ।
पूर्वमा औसतभन्दा कम वर्षा
जल तथा मौसम विज्ञान विभागअन्तर्गत हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा)का अनुसार मनसुन अवधिमा मुलुकभर १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म करिब चार सय मिलमिटर अर्थात मनसुन अवधिमा हुने वर्षाको २७ प्रतिशत वर्षा भएको छ।
विभागको जनकपुर, सिमरा, विराटनगरलगायत वर्षा मापन केन्द्रको तथ्याङ्क हेर्दा यी मापन केन्द्रहरुमा औसतभन्दा कम वर्षा भएको छ। ‘जनकपुरमा यस मनसुन सुरु भएयता ११ प्रतिशत र अर्थात् १०० मिलिमिटर वर्ष भएको छ। जनकपुरमा मनसुन अवधिमा औसत ११ सय मिलिमिटर वर्षा हुनुपर्ने तथ्याङ्क छ’, विभागले भनेका छ, ‘यसैगरी बिराटनगरमा १५ प्रतिशत अर्थात् एक सय ५० मिलिमिटर वर्षा भएको छ। मनसुन अवधिभर यस क्षेत्र १४ सय मिलिमिटर वर्षा हुने गर्छ। यी क्षेत्रमा औसतभन्दा कम वर्षा भएको छ।’
पोखरामा अहिलेसम्म २२ प्रतिशत अर्थात् छ सय मिलिमिटर वर्षा भयो। मनसुन अवधिभर यस क्षेत्रमा तीन हजार मिलिमिटर वर्षा हुने गरेको छ। धनगढीमा ३५ प्रतिशत वर्षा भएको देखिन्छ। धनगढी, सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसत वर्षा भइसकेको छ।
पूर्वतिर वर्षाको गतिविधि बढ्दैछः मौसमविद्
विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् डेबिड ढकालले न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेका कारण पूर्वमा कम वर्षा भएको बताए। ‘यसवर्ष पूर्वी क्षेत्रमा गत वर्षको तुलनामा कम वर्षा भएको छ। सरदरभन्दा कम वर्षा भएका कारण पनि रोपाइँ कम भएको हो’, उनले भने, ‘तर अब पूर्वतिर वर्षा गतिविधि बढ्दैछ।’
जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले जलवायु परिवर्तनका कारण कहिले कम वर्षा, कहिले भारी र कहिले अति भारी वर्षा हुने तथा मनसुन छिटो सुरु भए पनि सक्रिय हुननसक्ने जस्ता परिवर्तन देखिँदै गएको बताए। ‘अहिले पूर्वी क्षेत्रमा कम वर्षा हुँदा धान रोपाइँमा असर परेको छ, अब सिँचाइ सुविधा पुर्याउनुपर्ने तथा जलवायुमैत्री कृषि प्रणाली अपनाउनुपर्ने आवश्यकता छ’, उनले भने।
यस वर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो। सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मको चार महिनालाई मनसुन ऋतु भनिन्छ।


