काठमाडौँ- पूर्व ऊर्जामन्त्री जनार्दन शर्माले वर्तमान ऊर्जामन्त्री दीपक खड्कालाई फोन राखेर आफ्नो कुरा सुन्न आग्रह गरेका छन्। ऊर्जा उत्पादकहरूको संस्था इपानले आयोजना गरेको तेइसौं साधारण सभा कार्यक्रममा मन्तव्य राख्दै पूर्व ऊर्जामन्त्री शर्माले वर्तमान ऊर्जामन्त्री खड्कालाई यस्तो निर्देश गरेका हुन्।
पूर्व ऊर्जामन्त्री शर्माले खोलामा विद्युत उत्पादन गर्ने भनेर लाइसेन्स लिएको तर अड्काएको उल्लेख गर्दै त्यस्तालाई कारबाही गर्नुपर्नेमा मन्त्रालयले टुलुटुलु हेरी बसेको र आफूले कुरा उठाएका बेला सुन्दा पनि नसुनेको भन्दै मन्त्री खड्कामाथि आक्रोश पोखेका हुन्।
‘ऊर्जामन्त्रीज्यू फोन राख्नुस्। मेरो कुरा सुन्नुस्,’ आफ्नो कुरा नसुनेको र फोनमा मात्र व्यस्त भएको भन्दै शर्माले खड्कामाथि आक्रोश पोखे। यसो भन्दा शर्माको स्वर चर्को सुनिएको थियो। अनुहारको भावभंगी पनि रोषको झलक देखिन्थ्यो। लाइसेन्स लिएर अड्काएकाहरूको बारेमा पनि आफूले खोजनीति गर्ने उनको चेतावनी छ।
कार्यक्रममा ऊर्जा उत्पादकहरू र पूर्वऊर्जामन्त्री जनार्दन शर्माले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका थिए।
आगामी आर्थिक वर्षको बेजटमा अब हुने विद्युत खरिद बिक्रीमा टेक एण्ड पेको व्यवस्था गरिएको थियो। निजी क्षेत्रलाई विद्युत व्यापारको बाटो बन्द गरेर टेक एण्ड पेको व्यवस्था गरिएको भन्दै व्यवसायीहरूले विरोध जनाएका थिए।
यस्तो विरोधपछि सरकारले यो व्यवस्थाबाट पछि हट्ने प्रतिबद्धता गरेको छ। यसरी पछि हटाउन कांग्रेस सभापति देउवाको विशेष भूमिका रहेको भन्दै उनको प्रशंसामा सबै उत्पादकलाई उठेर ताली बजाउन इप्पानका अध्यक्ष गणेश कार्कीले आग्रह गरेका थिए। त्यसपछि सबै उत्पादक उठेर प्रशंसा गरेका हुन्।
विद्युत ऐन २०४९ को कार्यान्वयनका लागि २०५५ सालमा निजी क्षेत्रबाट विद्युत खरिद गर्ने निर्णय भएको थियो।
२६ वर्षमा करिब २९ सय २३ बिजुली मेगावाट उत्पादन गर्न निजी क्षेत्रले गरेको छ। निजी क्षेत्र आउनुअघि देशको कुल उर्जा उत्पादनको जडित क्षमता २५२ मेगावाट मात्र रहेकोमा अहिले ३६ सय २५ मेगावाट पुगेको छ।
आगामी १० वर्षमा २८,५०० मेगावाट बिजुली उत्पादन गर्ने सरकारको मार्गचित्र छ।


