श्रीमद्-भगवद्-गीता (श्रीमद्भगवद्गीता) धार्मिक ग्रन्थ मात्र नभई मानव जीवनको मार्गदर्शक हो। चिकित्साशास्त्रको भाषामा जीवनको प्रोटोकल पनि भन्न सकिन्छ। यसमा प्रत्यक्ष रूपमा ‘चिकित्सा’ वा ‘स्वास्थ्य’ भन्ने शब्द प्रयोग नभए पनि जीवनशैली, मानसिक सन्तुलन, आत्मचिन्तन र कर्तव्य भाव जस्ता आयाम मार्फत स्वास्थ्यका मूलभूत पक्षहरूको विवेचना गरिएको छ। समग्र स्वास्थ्य चेतनाले हेर्दा गीता वास्तवमै समग्र जीवन जगतको मूल स्रोत हो। गीतामा आधुनिक विज्ञानबाट अनुत्तरित जीवनका कठोर प्रश्नहरूको उत्तर दिन्छ, जसले आन्तरिक शान्ति, सन्तुलन र सामाजिक समर्पणलाई प्रेरित गर्छ।
गीतामा निहित ज्ञानलाई आम मानिसले रसस्वादन गर्न थाले पछि बिगत केही वर्षदेखि बच्चादेखि पाका, सबै उमेर, वर्ग, क्षेत्र, पेसाका मानिसहरुले जीवनशैली, मानसिक स्वास्थ्य र सामाजिक सेवासँग जोड्ने प्रयासहरू नेपालमै बढ्दै गएका छन्। विद्यालय र विश्वविद्यालयमा गीता अध्ययन कक्षाहरू सुरु भएका छन्, ध्यान र योगसँग सम्बन्धित सामुदायिक कक्षा सञ्चालन भइरहेका छन्।
हालै मात्र जीवनका लागि गीता ज्ञान अभियान मार्फत स्कुल कलेजमा पढ्ने भाइबहिनीहरु बीच जुमको माध्यमबाट वक्तृत्व प्रतियोगिता सम्पन्न गरियो। उक्त अवसरमा ११४ जना सहभागी भएका थिए। तीन दिनसम्म चलेको पहिलो चरणबाट १३ जना सहभागीहरु छनोट भएका थिए भने दोश्रो चरणको प्रस्तुतीकरणबाट पाँच जनालाई पुरस्कृत र बाँकी आठ जनालाई विशेष सम्मान गरिएको थियो। उक्त कार्यक्रममा साना साना (१२ वर्षका) सहभागीहरुले अन्य विषयका साथै गीता दर्शनमा निहित व्यक्तिगत र जनस्वास्थ्यको दृष्टिकोणका बारेमा निक्कै उच्चस्तरको प्रस्तुती दिएका थिए। उक्त कार्यक्रमले नयाँ पुस्तामा भगवत गीता प्रतिको रुची र अन्तर्निहित चेतनाको गहिराइ बुझ्न सहज भयो।
हामीलाई थाहा छ, गीताको आरम्भ अर्जुनको मानसिक संकटबाट हुन्छ। त्यसै अवसरमा भगवान कृष्णले आत्मचिन्तन, कर्तव्य र योगदर्शनमार्फत अर्जुनलाई मार्गदर्शन गर्छन्। यो संवाद, आजको भाषामा भन्ने हो भने, एक प्रभावशाली मानसिक स्वास्थ्य परामर्शको दृष्टान्त हो। गीता भन्छ, ‘दुःखेष्वनुद्विग्नमनाः सुखेषु विगतस्पृहः’ – सुख–दुख दुवैमा स्थिरचित्त हुनु मानसिक सन्तुलनको गुण हो। तनाव, चिन्ता, निर्णय–दुविधा, आत्म–संशय जस्ता अवस्थामा गीता प्रेरणादायी मार्गदर्शक हुन सक्छ।
गीता केवल मानसिक स्वास्थ्यमै सीमित छैन; यसले जीवनशैलीका सन्तुलनबारे पनि प्रस्ट मार्ग दिन्छ। ‘युक्ताहारविहारस्य युक्तचेष्टस्य कर्मषु…’ भन्ने श्लोकले सन्तुलित आहार, निद्रा, कर्म र मनोरञ्जनलाई स्वास्थको आधार मानेको छ। आजको नेपालमा जीवनशैलीसँग सम्बन्धित नसर्ने रोगहरू (जस्तै उच्च रक्तचाप, मधुमेह, मोटोपन) बढ्दै गर्दा, गीता सन्देश अझ बढी सान्दर्भिक देखिन्छ। यसले योग, ध्यान, र संयमित जीवनशैलीको अभ्यासमार्फत स्वास्थ्य संवर्धनको आधार प्रदान गर्छ। राज्य आधुनिक चिकित्सा विधिलाई मात्र स्वास्थको मानक मानेको र त्यहि अनुसार काम गर्दै आएको छ, जुन भर्खरको आवश्यक कुरा गर्न सिवाय दीर्घकालिन स्वास्थका लागि प्रयार्प्त छैन।
गीता योगशास्त्रको गहिरो दर्शन पनि हो। योगलाई गीता केवल आसनमा सीमित नगरी, शरीर, मन र आत्माबीचको समन्वयको रूपमा व्याख्या गर्छ। ‘योगस्थः कुरु कर्माणि’ – कर्म गर्दा योगमा स्थिर रहनु, फलको मोह नगर्नु – भन्ने सन्देश आज एकाग्रता, आत्मचिन्तन (माइन्डफुलनेस) र तनाव व्यवस्थापनको अभ्याससँग मेल खान्छ। यसले स्वयं रूपान्तरण मार्फत समाज रूपान्तरणको मार्ग देखाउँछ — जहाँ समता, सेवा, ज्ञान र प्रेम चारै भुजामा ठडिएको पूर्ण मानवीय विकासको आदर्श स्थापित हुन्छ । यसर्थ गीतामा योग समग्र जीवन विज्ञान हो, जसमा शरीर स्वस्थ, मन स्थिर, बुद्धिप्रबुद्ध र आत्मा आनन्दित रहन्छ ।
‘स्वधर्मे निधनं श्रेयः’ भन्ने गीता सन्देशले प्रत्येक व्यक्तिले आफ्नो स्वभाव र पेसा अनुसार आफ्नो कर्तव्य निष्ठावान रहन प्रेरित गर्छ। ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने श्लोक स्वास्थ्य पेशामा कार्यरत चिकित्सक, नर्स, लगायत सबैस्वास्थ्यकर्मी र अन्य सेवा प्रदायकहरूका लागि नैतिक ऊर्जा बनि उभिन्छ। यो दर्शनले आफूलाई ‘निमित्त’ सम्झेर निष्काम रूपमा सेवा गर्न प्रेरित गर्छ, जुन सार्वजनिक स्वास्थ्य सेवाको मुटु हो।
त्यस्तै ‘निमित्तमात्रं भव सव्यसाचिन्’ भन्ने श्लोकले – हामी माध्यम हौं, काम सेवाभावले गर्नु नै साँचो स्वास्थ्य नेतृत्व हो भन्ने आदर्श चेतना दिन्छ। ‘लोकसंग्रहाय कर्म’ को अर्थ हाम्रा कामहरू केवल आफ्नै फाइदाका लागि होइन, समाजका लागि प्रेरणादायी हुनुपर्छ भन्ने हो। यसको संदेश भनेको आफ्नो पेसामा इमानदार, जिम्मेवार र नैतिक बन्न सिकाउँछ।
गीताले ‘समदृष्टि’को पनि शिक्षा दिन्छ – ‘विद्याविनयसम्पन्ने ब्राह्मणे…’ भन्ने श्लोकले सबैमा समान दृष्टिकोण राख्न सिकाउँछ। नेपालजस्तो विविध जातीय, भाषिक र सामाजिक पृष्ठभूमि भएको देशमा स्वास्थ्य सेवाको पहुँचलाई न्यायपूर्ण बनाउन समावेशिता अपरिहार्य छ। गीता यस समतामूलक दृष्टिकोणको वैदिक आधार हो, जसले आजको स्वास्थ्यको सर्वब्यापी पहुचको सिद्धान्तसँग मेल खान्छ। यसरी हेर्दा गीताले परम्परागत ज्ञानलाई आधुनिक जीवनशैलीसँग जोड्ने सेतुको काम गरिरहेको छ।
उसो त भगवत गीता चिकित्सा विज्ञानको पुस्तक होइन, तर जीवनको मार्गदर्शक ग्रन्थ भने पक्कै हो। यसले आत्मचिन्तन, संयमित जीवनशैली, मानसिक सन्तुलन, सेवा भाव र समदृष्टिको समन्वय मार्फत स्वास्थ्यप्रति समग्र दृष्टिकोण दिन्छ। आजको दिनमा जब स्वास्थ्यलाई केवल रोग बिहिन अवस्था भन्दा व्यापक रूपमा हेरिन्छ, गीतासँगको संवाद अनिवार्यजस्तै देखिन्छ। नेपालमा यसबारे भएका सकारात्मक प्रयासहरूलाई विस्तार गर्दै गीता दर्शनलाई जनस्वास्थ्य शिक्षा, नेतृत्व विकास र स्वास्थ्य सेवाको मूल प्रणालीसँग एकीकृत गर्न सके, ‘समृद्द नेपाल, स्वास्थ नेपाली’ को दिशामा महत्वपूर्ण पाइलो चाल्न सकिन्छ।
अन्ततः भगवत गीताले जीवन र जगतलाई सुखी र खुशी बनाउने मार्ग आत्मचिन्तन, कर्तव्यबोध, र समत्वदृष्टि भएको व्यक्ति निर्माणको दर्शन दिन्छ। ‘योगस्थः कुरु कर्माणि’ भन्दै गीताले परिणामको मोह बिना कर्तव्यमा लाग्न सिकाउँछ, जुन आन्तरिक शान्ति र सन्तुष्टिको मूल हो। साथै, ‘समदुःखसुखः स्वस्थः’ जस्ता सन्देशहरूले जीवनमा समता र मानसिक सन्तुलनलाई प्राथमिकता दिनुपर्छ भन्छ। व्यक्तिगत रूपले जब मन स्थिर, बुद्धि स्पष्ट र कर्म निष्काम हुन्छ, तब जीवनमा आनन्द आउँछ; र यस्तो व्यक्तिले समाजमा पनि सकारात्मक ऊर्जा फैलाउन सक्छ। यसरी गीता ज्ञानले आत्मिक सन्तोषमार्फत समृद्ध जीवन र सुसंस्कृत समाजको मार्ग देखाउँछ।
(पौडेल पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा कार्यरत छन्।)


