काठमाडौँ– खडेरीको मारमा परेको मधेश प्रदेशमा ६० दिने आपत्कालीन कार्यक्रम सुरु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाअन्तर्गत उक्त कार्यक्रम सञ्चालनमा आएको हो।
कार्यक्रमलाई तीन चरणमा विभाजित गरिएको छ। जसमा पहिलो चरणमा पानी आपूर्ति गर्ने र दोस्रो चरणमा बोरहोल खन्ने सम्भाव्यता अध्ययन, अवस्थित सिँचाइ प्रणालीको सुधार र सरकारी समन्वयमा दिगो पानी प्रणाली निर्माण गरिनेछ।
तेस्रो चरणमा कृषकहरूका लागि ‘क्यास फर वर्क’ कार्यक्रम, सिँचाइ मर्मत र वैकल्पिक बाली प्रवद्र्धनमा प्राविधिक सहयोग गर्ने कार्यक्रम रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अवधेश झाले बताए।
कार्यक्रम खडेरी प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका विभिन्न १० पालिकामा सञ्चालन हुने झाले जानकारी दिए।
२६ असारमा प्रदेश सरकारले मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने यो कार्यक्रमबाट ८ हजार ३ सय ५५ घरधुरीका करिब ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्।
कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।


