काठमाडौँ– सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरामा भेटिएका छन्।
उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए।
होटलका सञ्चालक सुनिल भर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए।
उनीहरुले तीन वटा कोठा लिएर बसेका थिए। १५/१६ जना नै आएको भए पनि कति जना भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए। यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले पनि उनीहरू पोखराको उक्त होटलमा आएर बसेको पुष्टि गरे। ‘उहाँहरू पोखराको होटल जननीमा आएर बसेको भन्ने थाहा भयो। शनिबार आएर बसेको र आइतबार नै चेकआउट गरेर हिँडेको भन्ने सूचना प्राप्त भएको छ। थप बुझ्ने काम भइरहेको छ,’ उनले भने।
गाउँपालिकाबाट एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि सोमबार बिहानबाटै प्रहरी परिचालनगरी खोजी कार्य जारी गरिएको थियो।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका सोमबार बिहान पत्ता लागेको थियो।
घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगेको थियो। भने हायुको घरमा सामान्य क्षति देखिएको छ। हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र छन्। तर हायुको परिवारका कोही सदस्य पनि घरमा थिएनन्।
१६ जना बेपत्ता घटना रहस्यमय भएकाले सिन्धुलीदेखि रामेछापसम्मै खोजी कार्य तिब्र पारिएको थियो।
उनीहरूको अन्तिम मोबाइल लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा ट्र्याक गरिएकाले दुवै जिल्लामा खोजी तीव्र पारिएको दुवै जिल्लाका प्रहरीले जानकारी दिएका छन्।


